कम्युनिष्टहरुको एकदलिय अधिनायकबाद तर्फको यात्रा कहिल्यै गन्तब्यमा पुग्दैन : साँसद आचार्य

धुञ्चे । प्रतिनिधीसभा सदस्य मोहन आचार्यले स्वतन्त्र न्यायालय, स्वतन्त्र प्रेस, मौलिक मानव अधिकार लगायतका लोकतन्त्रका आधार स्तम्भहरुमा एकपछि अर्को प्रहार गरेर बर्तमान सरकारले आफ्नो सर्बसत्तावादी चरित्र प्रदर्शन गरिरहेको आरोप लगाउँदै कम्युनिष्टहरुको एकदलिय अधिनायकवाद तर्फको यात्रा कहिल्यै गन्तव्यमा नपुग्ने दाबी गरेका छन् ।

नेपाली काँग्रेसको देशव्यापी बिरोध प्रदर्शन अन्तर्गत मंगलबार रसुवाको सदरमुकाम धुञ्चेमा आयोजित कार्यक्रममा साँसद आचार्यले सुशासन, मानवअधिकारको संबर्धन र स्थायी सरकारको नारा अलापेर जनमत बटुलेपनि सत्तामा पुगेपछि बर्तमान सरकारले जनमतको व्यापक दुरुपयोग गरिरहेको बताए । “जनताको मत लिएर जनतालाई नै समस्यामा पार्ने र लोकतन्त्रको धज्जी उडाउने कम्युनिष्ट चरित्र पर्दाफास भईसकेको छ, जनमतको बर्खिलाप जानेहरु जनताबाटै तिरस्कृत हुने दिन आउन सक्छ”–साँसद आचार्यको थप भनाई थियो । त्यसक्रममा साँसद आचार्यले नेपाली काँग्रेस सदैब जनताको सुखदुःखको साथी रहने स्पष्ट पार्दे रसुवाली जनताका हर समस्या समाधानमा आफू निरन्तर क्रियाशिल रहने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रभात लामा, रसुवा काँग्रेसका सभापति पेम्वा छिरिङ तामाङ, महाधिबेशन प्रतिनिधी जनकजीवन उपाध्याय लगायतका बक्ताहरुले सरकारको कार्यशैली लोकतन्त्र बिरोधी रहेकोले लोकतन्त्रको रक्षा र जनताको समस्या समाधानका लागि नेपाली काँग्रेस आवश्यक परे अझै सशक्त आन्दोलनका लागि समेत तयार रहेको धारणा ब्यक्त गरेका थिए । यस अघि रसुवा गेटबाट सुरु भएको सरकार बिरोधी काँग्रेस र्याली शिब मन्दिर पुगि पुनः धुञ्चे बजारमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत