नुवाकोटमा फुटबल खेल बिकासको प्रचुर सम्भावना छ : शेर्पा

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा आईतबार अपरान्ह नुवाकोट आईपुगे । एन्फामा निर्वाचित भएपछि फुटबल बिकासको महत्वाकाँक्षी तर सार्थक कार्यक्रमहरु सार्वजनिक गरेर खेलप्रेमीहरुको आशा र भरोसाको केन्द्र बनेका शेर्पाले छोटो नुवाकोट बसाईको क्रममा यहाँका स्थानीय जनप्रतिनिधीहरु र खेलाडीहरुसंग भेटघाट तथा खेलस्थलहरुको अवलोकन समेत गरे । यसै मेसोमा नुवाकोट टाईम्सले अध्यक्ष शेर्पासंग नुवाकोटमा फुटबल खेल बिकासको संभावना लगायतका बिषयमा कुराकानी गरेको थियो । प्रस्तुत छ : अध्यक्ष शेर्पासंगको कुराकानीको सारसंक्षेप :

coronavirus

तपाईंको नुवाकोट आगमनको उद्धेश्य चाहीँ के हो ?
बिशेष गरेर अखिल नेपाल फुटबल संघले आगामी भदौं २७ गतेबाट ४५ जिल्लामा सुरु गर्न लागेको ग्रासरुट फुटबल संबन्धि अभियान नुवाकोटमा पनि सुरु गर्ने र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्ने ,स्थानीय तहका जनप्रतिनिधीहरु र जिल्ला फुटबल संघसंग अन्तरक्रिया गरी यहाँको फुटबल बिकासका आधारहरुका बारेमा छलफल गर्ने तथा खेल मैदानहरुको उपयुक्तताका बारेमा जानकारी लिने उद्धेश्यले हाम्रो टिम नुवाकोट आएको हो ।

नुवाकोटमा फुटबल बिकासको सभावना कत्तिको देख्नुभयो ?
नुवाकोटमा मात्र हैन नेपालभरी नै फुटबल खेलको बिकासको सम्भावनाहरु छ, मात्र भौतिक पुर्वाधारको अभावले समस्या बढाईरहेको हो । अव मुलुक संघीय स्वरुपमा प्रबेश गरिसकेको सन्दर्भमा राज्यका सबै तहले यसको जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो मान्यता हो । केन्द्रले अन्तराष्ट्रिय खेल मैदानहरु निर्माण गर्ने , प्रदेशले राष्ट्रिय प्रतियोगिताहरु हुनसक्ने रंगशालाहरु बनाउने र स्थानीय तहहरुले तालिमका लागि उपयुक्त मैदान निर्माण गर्ने सोच वनाउनु पर्छ र ग्रासरुट फुटबललाई स्थानीय तहले पूर्ण अभिभावकत्व प्रदान गर्नुपर्छ । नुवाकोटको सन्दर्भमा भन्दा यहाँका स्थानीय तहहरु फुटबल खेलको बिकासका लागि पूर्ण रुपले सहयोग गर्न तयार रहेको पाईयो । यहाँ रहेका बट्टार, सिंचाई र पिपलटारको तीनवटा खेलमैदानलाई ब्यवस्थित बनाउन सकियो भने धेरै प्रतियोगिताहरु गर्न सकिन्छ । यहाँको फुटबल संघको क्रियाशिलता र स्थानीय तहहरुको सहयोगले नुवाकोमा फुटबल खेलको बिकासको धेरै सम्भावनाहरु देखिएको छ ।

बिदुर नगरपालिकाको नेतृत्वसंगको अन्तरक्रिया कस्तो रह्यो ?
बिदुर नगरपालिकाका प्रमुख र उपप्रमुखसंगको अन्तरक्रिया अत्यन्त सकारात्मक रह्यो । केही अघि सम्पन्न नुवाकोट गोल्डकपको संरक्षकत्व ग्रहण गरेको नगरपालिकाले फुटबल खेलको बिकासका लागि नगरपरिषद्बाटै आवश्यक निर्णयहरु गरिसकेको सुन्दा हामीलाई उत्साहित समेत बनाएको छ र खेल बिकासका लागि हामी निरन्तर सहकार्य गरेर अघि बढ्न तयार छौं । यसैगरी सबै स्थानीय तहले सोचिदिएको खण्डमा नुवाकोटमा फुटबल खेलको बिकासको क्षेत्रमा महत्वपूर्ण र सार्थक परिवर्तन हुने निश्चित छ ।

एन्फाका आगामी कार्ययोजनाहरु के–के छन् ? 
हामीले साउन ३० गते बिशेष साधारणसभा बोलाएका छौं । त्यसले बिधान संसोधन ,नियमावली निर्माण, खेलाडीको स्तर निर्धारण नियमावली र एन्फा कार्यबिधी अनुमोदन गरेपछि हाम्रा योजनाहरु व्यवस्थित रुपले कार्यान्वयनको चरणमा प्रबेश गर्छन । आगामी बर्ष नेपाली फुटबलका लागि उपलब्धिका दृष्टिले महत्वपूर्ण सावित हुनेछ र यही उद्धेश्यका साथ एन्फाको टीम क्रियाशिल भईरहेको छ ।

अन्त्यमा नुवाकोटका फुटबल प्रेमीहरुलाई केही भन्न चाहनुहुन्छ ? 
नुवाकोट जिल्ला भबिष्यमा फुटबल खेलको कारणले चिनिने अवस्था बन्दै गएको छ । नुवाकोट गोल्डकपले त्यसको आधार तयार गर्ने काम गरेको छ भने यहाँका उत्साही खेलाडी, खेलकुद संघ र स्थानीय तहहरुमा देखिएको खेल बिकासको भावनाले खेल पर्यटन प्रबद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिएको छ । हामी यहाँ हुने फुटबल बिकासका हरेक कदमहरुमा साथमै छौं र आवश्यक सहयोगका लागि समेत तयार रहेको प्रतिबद्धता समेत जनाउन चाहन्छु ।

तपाइको प्रतिक्रिया