आज जनैपूर्णिमा ,६ हजार तिर्थालु पुगे गोसाईकुण्ड

धुञ्चे । आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व । यस अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्न देशका बिभिन्न भागहरुबाट आएका तिर्थालुहरु गोसाईकुण्ड क्षेत्र पुगिसकेका छन् । निरन्तरको बर्षाका कारण नुवाकोट र रसुवाका धेरै स्थानमा भएको सडक अवरोधलाई छिचोल्दै तिर्थालुहरु गोसाईकुण्ड पुगेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भदौ १ गतेदेखि ९ गते अपरान्ह सम्ममा देशका बिभिन्न भागबाट आएका छहजार भन्दा बढी तिर्थालुहरु गोसाईकुण्ड तर्फ प्रस्थान गरिसकेका छन् ।

coronavirus

समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइ रहेको गोसाईकुण्डमा लाग्ने जनै पूर्णिमा मेलाको महत्वका कारण मेला भर्न आउने तिर्थालुहरुको संख्या उल्लेख्य रहँदै आएको छ । तिर्थालुहरुको सुबिधाका लागि स्थानीय प्रशासन र सामाजिक संघ संस्थाहरुको अगुवाईमा बिभिन्न समितिहरु नै निर्माण गरेर आवश्यक कामहरु अघि बढाईएको छ । मेलामा १५ हजार भन्दा बढी तिर्थालुहरु आउने अनुमानका साथ बाटोको ठाउँ– ठाउँमा अस्थायी छाप्रा बनाउने काम भैसकेको छ भने गोसाइँकुण्ड क्षेत्र विकास समितिले मेला भर्न आउने भक्तजनलाई भोजनको प्रबन्ध मिलाएको छ । मेलामा आउने तिर्थालुहरुका लागि नुवाकोट र रसुवाको बाटोमा पहिरोका कारण आउन सक्ने समस्यालाई मध्यनजर गर्दे दुबै जिल्लाको स्थानीय प्रशासनविचको समन्वयमा सडकमा आउनसक्ने पहिरोको अवरोध हटाउन आवश्यक उपकरणहरु तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिएका छन् ।

यसैगरी गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रुका लागि गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, बुद्ध मन्दिरमा सक्षम नेपाल, लौरी विनायकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चोलाङ्पाटी र चन्दनबारीमा नेपाली सेना कालीजङ्ग गणले प्राथमिक उपचार शिविर संचालन गरेका छन् भने जिल्ला स्वास्थ्य कार्यालय रसुवाले यात्रु उकालो लाग्ने प्रवेशद्वार मिनी गोसाइँकुण्डमा स्वास्थ्य परामर्श दिईरहेको छ ।

यसैगरी रसुवाको स्थानीय प्रशासनले मेलामा आउने तिर्थालुहरुको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाएको छ । रसुवाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार मेलामा भरपर्दो सुरक्षा प्रब्न्ध गरिएको छ भने गोसाईकुण्ड मार्गको ठाउँ–ठाउँमा बिशेष निगरानी र पैदल गस्ती सहित सुरक्षाको अनुभूति हुने गरी सुरक्षा ब्यवस्थापन गरिएको छ ।

सत्य युगमा समुद्र मन्थन गर्दा निस्केको कालकूट विष पिई प्राणीजगत्लाई बचाएर नीलाद्री पर्वतमा विराजमान शंकर गोसाईँको जीवनमा एक पटक भए पनि दर्शन गर्नुपन र यो दिन गोसाईकुण्ड पुगेर स्नान र यज्ञोवित धारणा गर्नाले पूण्यप्राप्त हुने धार्मिक बिश्वास रहिआएको छ । आजको दिन नुवाकोटका प्रमुख नदी किनारहरुमा पनि स्नान र यज्ञोपवित धारण गर्नेहरुको भीड लाग्ने गर्दछ ।

तपाइको प्रतिक्रिया