सन्दर्भ बट्टार दुर्घटनाः किन कहिल्यै सचेत बन्दैनौं हामी ?

पटक – पटक सवारी दुर्घटनाहरु भईरहेपनि दुर्घटनाप्रतिको सामान्य भन्दा सामान्य सचेतताको कमीका कारण नुवाकोटका सडकहरु दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ ।
एसपी देबकोटा

बुधबार बिदुर नगरपालिका वडा नम्वर ४ को बट्टार बजारमा अत्यन्त अकल्पनीय र ह्दयबिदारक दुर्घटना हुन पुगेको छ । दुर्घटनाका कारण आफ्नो बाबुसंग स्वास्थ्य संस्थामा आई आफ्नो स्वास्थ्य सुधारको उपाय खोजेको केही मिनेट नबित्दै एक बालकको अल्पायु मै दुःखद निधन भएको छ भने पीडितहरुको आक्रोशको शिकार बनेका सवारी चालक समेत गम्भीर अवस्थामा उपचार गराईरहेका छन् । त्रिशूलीबाट काठमाडौं जाँदै गरेको बसले गोस्र्याङका एक बालकलाई ठक्कर दिँदा बालकको मृत्यु भएपछि बिहिबार रातीसम्म बट्टार क्षेत्र अशान्त रह्यो भने स्थानीयहरु समेत अश्रुग्याँसको ‘पीरो’ झेल्न बाध्य भए । लामो समयसम्मको प्रयासपछि मृतकका आफन्तहरु सहमतिमा आएका कारण स्थिती थप बिग्रन त पाएन तर यसले धेरै अनुत्तरीत प्रश्नहरु भने सबैका सामु तेस्र्याईदिएको छ ।

पछिल्लो समय नुवाकोटका प्रमुख सडकहरु असुरक्षित बन्दै गएका छन् । सवारी नियम बिपरित सवारी चलाउने प्रबृत्ती बढ्दै जाँदा धेरैले अकालमा मृत्युबरण गर्न पुगेका छन् । तर कुनै पनि घटनामा सामान्य सचेतता अपनाईएको भने पाउन नसकिनु सधैंको लागि खतरनाक सवाल बनेर उभिन थालेको छ । हरेक दुर्घटनापछि शवलाई त्यत्तिकै छाडेर क्षतिपूर्तीका नाममा आन्दोलन हुने र मृत्युलाई पैसासंग दाँजेर सहमति भएपछि घटनाका कारण र कारकलाई बेवास्ता गर्ने प्रबृत्ती मौलाउँदै जाँदा यसले सबैका लागि असुरक्षित भबिष्यसंग साक्षात्कार गर्ने अवस्था सिर्जना गरिरहेको छ भन्दा अत्युक्ति नहोला । बुधबारको दुर्घटना तिब्र गती र यात्रु बोक्नका लागि गरिएको हतारको परिणाम हो भन्ने निष्कर्ष स्वयं यातायात ब्यवसायीहरुले नै निकालिसकेको सन्दर्भमा किन सधैं यही प्रबृत्ती दोहोरिईरहेको छ त भनेर गम्भीर समीक्षा गरिनु जरुरी भईसकेको छ । अनि सामान्य क्षतीपूर्तीको भरमा पीडकले उन्मुक्ती पाउने र त्यसका लागि कानुनी कमजोरीहरुलाई आधार बनाईरहने अवस्थाले दुर्घटना न्यूनीकरण भन्दा दुर्घटना बृद्धि भईरहेको यथार्थलाई आत्मसात गर्दे सुरक्षित सडक निर्माणका लागि सरोकारवालाहरु सबै ऐक्यबद्ध भएर क्रियाशिल हुनुपर्ने अवस्था बनिसकेको छ ।

पछिल्लो समय स्तरोन्नतीको क्रममा रहेको गल्छी – त्रिशूली सडकमा धेरै सवारी दुर्घटनाहरु भईरहेका छन् । सडक स्तरोन्नतीसंगै सवारीको गती अत्यधिक हुने र सवारी चालकहरु र सडक प्रयोगकर्ताहरु सडक प्रयोगमा अभ्यस्त नभईसकेका कारण पनि दुर्घटनाहरु बढी रहेका छन् । अझ सवारी नियमको ठाडो उल्लंघन गर्ने ,ब्यस्त बजारहरुमा तिब्र गतीमा सवारी चलाउने र क्षमता भन्दा बढी यात्रु बोक्ने प्रबृत्तीका कारण धेरैले दुर्घटनाको शिकार बन्नु परिरहेको छ । हुन त एउटा घटनाबाट सिकेर अघि बढ्नु पर्ने हो , तर यहाँ त दुर्घटनाको केही समयपछि सबै बिर्सने प्रबृत्ती मौलाईरहेको छ । जवसम्म सवारी नियमको पूर्ण पालनाको साथै आफू बच्ने र अरुलाई पनि बचाउने महान सोच सबैमा बिकसित हुँदैन तबसम्म प्रहरीमात्रको प्रयासले सुरक्षित सडक बन्न सक्ने अवस्था रहँदैन। तसर्थ बुधबारको दुर्घटनाबाट पाठ सिक्दै अव यस्ता दुर्घटनाहरु दोहारिन नदिन सबैले आ–आफ्नो तर्फबाट चिन्तनसहित प्रतिबद्धता जाहेर गर्नुनै बुधबार अकालमा ज्यान गुमाएका बालक प्रतिको सच्चा श्रद्धाञ्जली ठहरिने छ ।

यसमा तपाइको मत