विश्व आक्रान्त पारेको कोरोनाका चुनौती र नियन्त्रण: बहादुरसिंह लामा

चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक पहिचान भएको उक्त भाइरसले सरुवा रोगको रूपमा उग्ररूप लियो । वुहानबाट यो भाइरसले अमेरिका, इटाली, बेलायत, फ्रान्स, जर्मनी, भारतलगायत विश्वका १ सय ९० भन्दा बढी मुलुकमा महामारीको रूप लिएको छ । यो लेख तयार गर्दासम्म कोभिड-१९ ले ३० हजारभन्दा बढीको ज्यान लिइसकेको छ । त्यस्तै ६ लाखभन्दा धेरैको संख्यामा यो रोगबाट संक्रमित छन् । यो सँगै हालै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । तर, मृत्यु दर भने शून्य छ ।

चीनबाहेक अन्य कुनै पनि मुलुकले कोभिड-१९ को नियन्त्रण गर्न सकिरहेका छैनन् । यो अवस्थामा नेपालजस्तो न्यून स्रोत र साधन भएको मुलुकमा भित्रिनु नै ठूलो दुर्भाग्य हो । यसले ठूलो धनजनको क्षतिसँगै अर्थतन्त्रमा गम्भीर संकट पैदा गर्दैछ । राज्यभित्र भएका उद्योग, व्यापार तथा व्यवसायहरू पूर्ण रूपमा ठप्प छन् । एकातिर राज्यमा गरिबी, बेरोजगार, अशिक्षा, भ्रष्टाचारजस्ता समस्याले जरो गाडेको बेला लकडाउनले गर्दा गरि खाने वर्गलाई सबैभन्दा बढी समस्या जेलेको छ ।

coronavirus

मुलुकमा रोजगारीको व्यवस्था नहुँदा अधिकांश युवाहरू वैदेशिक रोजगारीमा भर पर्नुपर्ने अवस्था छ । रोजगारदाता मुलुकहरू समेत कोभिड-१९ को संक्रमण परेकाले यसैमा आश्रित परिवारको दैनिकी संकटमा परेको छ । यहि कारण राज्यको आयलाई टेवा पुर्याउँदै आएको रेमिट्यान्स शून्यजस्तै देखिन्छ । कुल गार्ह्रस्थ उत्पादन घटेको छ । बैंक तथा वित्तीय क्षेत्रहरू पूर्णरूपले तहसनहस हुने स्थितिमा छ । भौगोलिक विविधताले दिएको प्राकृतिक सम्पदाले विश्वलाई लोभ्याइरहेको थियो । यहि सम्पदाको कारण भित्रिने पर्यटकहरू पनि अहिले ठप्प छ । पर्यटकहरू नभित्रिएपछि पर्यटन क्षेत्रको ढोकामा ताला झुन्डिएको छ । मुलुकले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र पर्यटन नै ठप्प भएपछि मुलुकको दीर्घकालीन समग्र विकासमा नै बाधा पुग्ने देखिन्छ ।

राज्यले आम नागरिकको जीवन रक्षा गर्ने बेलामा आफैँ झिनामसिना कुरामा अल्झिएको छ । कहिलेकाहीँ प्राकृतिक प्रकोप तथा महामारीका कारण मुलुकमा गम्भीर संकटको सिर्जना हुनु स्वभाविक कुराहरू हुन् । जस्तोसुकै परिस्थितिमा नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । मुलुकले पटक(पटक प्राकृतिक प्रकोप महामारीजस्तो विषम परिस्थितिसँग लड्दै आएकै हो । विगतका ती परिस्थितिलाई हृदयंगम गर्दै त्यसका लागि सरकार सचेत र सजक रहनु पथ्र्यो । तर, सरकार यस्ता कुरामा गम्भीर हुन सकेन । महामारीले विश्वलाई आक्रमण गरिरहेको बेला राज्य मूकदर्शक बन्यो । यो महामारीको सम्भावना बढ्दै जाँदा संक्रमित मुलुकसँगको हवाइ उडान मात्र बन्द गर्न सकेको भए आज परिस्थिति आक्रान्त हुने थिएन । तर, त्यो सम्भावना टरिसकेको छ । जल्दोबल्दो  समस्याको तत्काल समाधानमा लाग्नुको सट्टा सरकार र मन्त्रीहरू औषधिजन्य पदार्थ खरिदमा अनियमिततामा मुछिनु लज्जाको विषय हो । सत्यतथ्य कुराहरू त बिस्तारै सार्वजनिक हुने नै छन् ।

माल्थसको सिद्धान्तलाई आधार मान्ने हो भने जनसंख्याको नियन्त्रण हुने प्राकृतिक कारणमध्ये बेलाबेला प्रकृतिमा देखा परिरहने महामारी, दैवी प्रकोप इत्यादि हुन् । त्यसबाट बच्न संयमता र सावधानीभन्दा अरु कुनै विकल्प छैन । त्यसैले कोभिड-१९ बाट बच्ने एउटै विकल्प सावधानी र सचेतता हो । विगतका अनुभवलाई स्मरण गर्दै राज्यका सम्पूर्ण अंग पूर्णरूपले सक्रिय हुनुपर्ने अवस्था आएको छ । तत्कालीन असरलाई ध्यानमा राख्दै वर्तमान अवस्थाको ठोस निराकरणको उपाय ननिस्केसम्म लकडाउन खुलाउनु गैरजिम्मेवार कार्य हुनेछ ।

यसकारण मुलुकमा संभावित भोकमरी तथा आर्थिक संकटलाई ध्यानमा राखी सरकारले तत्काल राहत प्याकेज उपलब्ध गराउनु जरुरी छ । बैंक तथा वित्तीय क्षेत्रलाई सुरक्षित तरिकाले डिजिटल पद्धतिद्वारा सञ्चालन गर्नु अर्को बुद्धिमता हुन सक्छ, जसले विनिमय प्रक्रियालाई सहज बनाउने छ ।

यतिबेला विश्वभरका स्वास्थ्यकर्मीहरुले रोगसँग लडिरहेकाहरुलाई सहयोग गरिरहेका छन् भने सुरक्षाकर्मीले सरकारको निर्णय कार्यान्वयन गर्न गराउन अहोरात्र खटिएका छन् । यसकारण स्वास्थकर्मीलाई बढी चुनौती रहेको छ । उनीहरुको सुरक्षासँगै बिरामीका लागि यथेष्ट पूर्वाधार निर्माण तथा आवश्यकीय उपकरणको प्रबन्ध तत्काल मिलाउन जरुरी रहेको छ ।

यो भयभित स्थितिबाट यतिबेला आफूसँगै परिवार, समाज र राष्ट्रलाई बचाउने जिम्मेवारी एक सचेत नागरिकको दायित्व पनि हो । मुलुक यतिबेला गम्भीर संकटको संघारमा छ । केही वर्षअघि मात्र भूकम्पले शिथिल बनाएको सर्वविदितै छ । यस्ता प्रकोपको सामना गर्नेभन्दा अरु कुनै विकल्प छैन । यति बेला यो वा त्यो नभनी यस महामारीको विरुद्धमा एकले अर्कालाई साथ दिँदै अघि बढ्नु जरुरी छ । जय नेपाल !

(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य हुन् ।) 

साभार : सैलुङ अनलाइन

तपाइको प्रतिक्रिया