स्थानीय तहहरुले राहतमा नसमेट्दा ईटाभट्टामा काम गर्ने चारहजार बढी मजदुरहरु समस्यामा

Women carry raw bricks at a brick kiln in Bhaktapur, on Thursday, January 10, 2019. Photo: Skanda Gautam/THT

बिदुर । कोभिड–१९ रोकथाम तथा नियन्त्रण संबन्धि उच्चस्तरीय समितिले ईटाभट्टामा काम गर्ने मजदुरहरु सहित असंगठित क्षेत्रका मजदुरहरु र बिपन्न, असहायहरुलाई समेटेर राहत बितरण गर्न निर्देश गरेपनि नुवाकोटका स्थानीयतहहरु मजदुरहरुप्रति अनुदार बनेपछि नुवाकोटका बिभिन्न पालिकाहरुमा रहेका ईटाभट्टाहरुमा रहेका चारहजार भन्दा बढी मजदुरहरु समस्यामा परेका छन् । लकडाउनका कारण इटाभट्टाहरु संचालनमा नरहेको र संचालन नभएको अवधिमा उनीहरुले पारिश्रमिक समेत नपाउने हुँदा उनीहरुको दिनचर्या कष्टकर बनिरहेपनि स्थानीयतहहरुले मापदण्डमा नपर्ने भन्दै उनीहरुलाई राहत बितरण गर्न अनिच्छा देखाईरहेको पाईएको छ ।

coronavirus

उद्योग पनि संचालन नभएको र उत्पादित सामग्रीहरुको बिक्रि नहुँदा ठूलो संख्यामा रहेका मजदुरहरुको दैनिक गुजारा चलाउन उद्योगले सहयोग गर्न समेत सक्ने अवस्था नरहेको भन्दै जिल्ला बाहिरबाट आई काम गरिरहेका करिब चारहजार मजदुरलाई उनीहरुको घरसम्म पुग्ने वातावरण बनाईदिन, उद्योगका लागि कच्चा पदार्थ सहजरुपमा ल्याउने वातावरण बनाईदिन वा उनीहरुलाई राहत उपलब्ध गराईदिन ईटाभट्टा संचालकहरुले स्थानीय प्रशासनसंग आग्रह गरेका छन् । आईतबार प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई भेटेर उनीहरुले इटा उद्योगहरु पहिल्यै देखि समस्याग्रस्त रहिरहेको र लकडाउनका कारण ठूलो आर्थिक क्षती ब्यहोर्नु परेकाले मजदुरहरुको समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
ईटाभट्टा संचालकहरुका अनुसार स्थानीयतहहरुलाई राहतका लागि आग्रह गरिएपनि आफ्नो स्थानीय तहका मतदाता भन्दा बाहिरका लागि राहतमा समेट्न नसक्ने भन्दै स्थानीय तहहरु पन्छिईरहेका छन् ।

कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि मूलुक लकडाउनमा रहेको अवस्थामा आफ्नो क्षेत्रमा रहेको सबै नागरिकको समस्या समाधान गर्ने र कोही पनि भोकै रहने अवस्था आउन नदिने सरकारको नीति भएपनि स्थानीयतहहरु सरकारी निर्णयको आशयमा स्पष्ट नहुँदा दैनिक ज्याला गरेर आफू र परिवारको भरणपोषण गर्दे आएका मजदुरहरु समस्यामा पर्दे आएको ब्यवसायी बद्री अर्यालको भनाई छ । अर्यालका अनुसार ईटाभट्टामा काम गर्ने मजदुरहरु अधिकाँश जिल्ला बाहिरका छन् र प्रतिगोटा ईटा तयार गरेको आधारमा मात्र उनीहरुले पारिश्रमिक पाउने गरेका छन् ।

ईटाभट्टा मात्र हैन सदरमुकाम क्षेत्रका खाद्यान्न पसलहरु र हार्डवेयरहरुमा गाडीबाट सामान लोड अनलोड गर्ने काममा पनि जिल्ला बाहिरबाट आएका मजदुरहरु प्रशस्त छन् र उनीहरुपनि लकडाउनका कारण समस्यामा छन् । अप्रत्याशित रुपमा लकडाउन घोषणा हुँदा एकातिर उनीहरुले आफ्नो घरसम्म पुग्ने समय समेत पाएनन भने अर्कातिर स्थानीय तहले राहतमा उनीहरुलाई नसमेट्दा दैनिक जीवन गुजार्ने समस्याबाट उनीहरु गुज्रिरहेका छन् । स्थानीय प्रशासनले केन्द्रीय नीति अनुसार सवारी पास दिन बन्द गरिसकेको अवस्थामा जिल्लामा रहेका मजदुरहरुलाई राहत दिनबाट बञ्चित गरिनुनहुनेमा श्रम सम्बद्ध संस्थाहरुले समेत जोड दिएका छन् ।नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका सति मछिन्द्र खड्का अहिलको राहत भूकम्पको समयको जस्तो नभएकाले जो जहाँको भएपनि राहत उपलब्ध गराएर नागरिकलाई राज्यको अनुभूति दिलाउनुपर्ने धारणा राख्छन् ।

यसैबिच आईतबार नै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण संबन्धि जिल्लास्तरीय क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले जिल्ला बाहिरबाट आई ईटाभट्टा लगायत स्थानीयस्तरमा काम गर्ने मजदुरहरुलाई समेट्ने गरी राहत बितरण गर्न स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया