न संघीय सरकार सहयोग गर्छ, न प्रदेश सरकार सोधखोज: अध्यक्ष वस्ती (भिडियोसहित)

विदुर । तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले आफ्नो गाउँपालिकामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम चुनौतिपूर्ण र जटील बन्दै गएपनि संघीय र प्रदेश सरकारहरुबाट अपेक्षित साथ र सहयोग पाउन नसकेको गुनासो गरेका छन् । कोरोना संक्रमण रोकथाम र नियन्त्रणको सन्दर्भमा संघीय सरकारले प्रत्यक्ष सहयोग नगरेको र प्रदेश सरकारबाट क्वारेन्टाईन ब्यवस्थापनका लागि १० लाख रुपैया पठाउनु बाहेक कुनै सोधखोज नभएको अध्यक्ष वस्तीको गुनासो छ ।

सोमबार दाङसिंस्थित गाउँपालिकाका कार्यालयमा उत्तरगया दैनिकसंग कुरा गर्दे नुवाकोटमा कोरोनाको उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष वस्तीले क्वारेन्टाईन व्यवस्थापन गर्ने र स्वास्थ्य सामग्रीहरु ब्वयवस्थापन गर्ने सवालमा आफैं जमानी बसेर काम गर्नुपरेको समेत बताए । बिशेष गरेर भारतबाट गाउँपालिका फर्कने नागरिकहरुको उच्च संख्याले ब्यवस्थापनमा अनेकन जटीलताको सामना गर्नुपरेको बताउँदै त्यसक्रममा अध्यक्ष वस्तीले आर्थिक बर्षको अन्त्य हुनै लाग्दा बजेट समेत समाप्त भइसकेको र कोभिड– १९ को सन्दर्भसंग जोडिएका आर्थिक ब्ययभारहरु कसरी ब्यवस्थापन गर्ने भन्ने समस्यासंग जुध्दै कोरोना रोकथाम अभियानमा खटिईरहेको समेत स्पष्ट पारे ।

तारकेश्वर गाउँपालिकाका सबै वडामा १–१ वडा र पालिका रहेको वडामा २ वटा क्वारेन्टाईन व्यवस्थापन गरी भारतबाट आएका दुईसय भन्दा बढीलाई त्यसमा राखिएको तथा कोरोनाको जोखिम न्यूनिकरण र क्वारेन्टाईनमा रहेकाहरुको व्यवस्थापनमा सबै जनप्रतिनिधिहरु र पालिकाका कर्मचारीहरु निरन्तर क्रियाशिल रहेको बताउँदै त्यसक्रममा अध्यक्ष वस्तीले कोरोना रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउन आवश्यक सबै उपाय अवलम्वन गरिएको समेत जानकारी दिए ।

कोरोना संक्रमण नियन्त्रणका लागि मुलुक लकडाउनमा रहँदा बिकास निर्माणका कामहरुमा प्रत्यक्ष असर परेपनि चालु योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनको पाटोलाई मजबुत बनाईएको बताउँदै अध्यक्ष वस्तीले तारकेश्वरका नागरिकलाई पर्ने जस्तोसुकै समस्यामा पनि गाउँपालिकाको समूह हरदम नागरिकको साथमा रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

यसमा तपाइको मत