आजदेखि श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

काठमाडौँ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ ।

हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ । नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज आजै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । हिमालयकै अर्को न्यारोबडी जहाज कार्गो उडानका लागि चीनको चाङ्सा उडेको छ ।

अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको जहाज चाङ्सा गएको विमानस्थलले जनाएको छ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सोमबार सार्वजनिक गरेको थियो ।

उक्त एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउने चार्टर्ड उडानको तालिका बनाएको छ । -रासस

यसमा तपाइको मत