त्रिशूली अस्पताललाई एनेस्थेसिया मेशिन हस्तान्तरण, अव बिना अक्सिजन नै शल्यक्रिया गर्न सकिने

बिदुर । प्रदेश सरकारले एकसय शैय्याको बिशिष्टिकृत सेवासहितको अस्पतालको रुपमा रुपान्तरण गर्न त्रिशूली अस्पताललाई बजेट ब्यवस्थापन समेत गरिसकेको सन्दर्भमा अस्पताललाई स्वास्थ्य उपकरणहरुको दृष्टिले सुदृढ बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महत्वपूर्ण मेशिन उपलब्ध गराएको छ ।

निक साइमन फाउण्डेशनले मन्त्रालयलाई उपलब्ध गराएको एनेस्थेसिया मेशिन मन्त्रालयले अस्पताललाई हस्तान्तरण गरेको हो । त्रिशूली अस्पतालमा सोमबार बिहान आयोजित एक कार्यक्रमका बिच बागमति प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डे र प्रदेशसभा सदस्य बद्री मैनालीले त्रिशूली अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

त्यसक्रममा नेकपाका प्रदेशसभा प्रमुख सचेतक पाण्डे, प्रदेशसभा सदस्य मैनाली र बिदुर नगरपालिकाका प्रमुख सञ्जु पंडितले त्रिशूली अस्पताललाई एकसय शैययाको बिशिष्टिकृत सेवासहितको अस्पतालको रुपमा बिकसित गर्ने प्रदेश सरकारको निर्णयको सार्थक कार्यान्वयनका लागि पूर्वाधार र जनशक्ति बिकासका सबै प्रबन्धहरु मिलाईने प्रतिबद्धता जनाउँदै एनेस्थेसिया मेशिनको प्राप्तिपछि सामान्य शल्यक्रियाका लागि समेत हजारौं खर्च गरेर राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुने धारणा ब्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा त्रिशूली अस्पताल बिकास समितिका अध्यक्ष न्यौपाने, मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर राई र अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर राजेन्द्र लामाले एनेस्थेसिया मेशिनको उपलब्धताको क्षण अस्पतालको लागि ऐतिहासिक रहेको बताउँदै आवश्यक जनशक्तिको ब्यवस्थापन चाँडो हुनसके त्यसबाट अस्पतालको सेवाप्रवाहको अवस्थामा गुणात्मक परिवर्तन आउने बिश्वास ब्यक्त गरेका थिए ।

एनेस्थेसिया मेसिन बिरामीलाई पूर्णतः बेहोस बनाउने मेसिन हो । इञ्जिनीयरले उक्त मेसिन अस्पतालमा जडान गरिदिने र अस्पतालका डाक्टर, नर्स र ल्याबकर्मीलाई तालिम दिइएपछि मेशिन सञ्चालन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवराज तिवारीले जानकारी दिएका छन् ।

निक साईमन्स मार्फत उक्त मेशिन त्रिशूली अस्पताल ल्याउन निरन्तर पहल गरिरहेका नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा आवश्यकपर्ने भेन्टिलेटरसहितको उक्त उपकरणको मूल्य करिब २३ लाख रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत