‘कोरोनाको त्रास’मा बेलकोटगढीका मेयर, काँग्रेसद्वारा नागरिकमुखी बजेट ल्याउन माग

बिदुर । नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेका सन्दर्भमा प्रतिपक्षी नेपाली काँग्रेसले आफ्ना मागहरु समेटिएको ध्यानाकर्षण पत्र बुझाउन जाँदा नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बुझ्न मानेनन् । मुलुकमा लकडाउन सुरु भएसंगै नगरपालिका कार्यालय भन्दा केही पर रहेको सरकारी आवासमा पुरा बार बन्देज गरेर बसिरहेका प्रमुख खनाल सोमबार काँग्रेसको टोली आएपछि कार्यालयमा आएपनि कोरोनाको त्रासका कारण ध्यानाकर्षण पत्र बुझ्न अनिच्छुक देखिए । कोरोना संक्रमणका कारण पूर्ण स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बसिरहेका प्रमुख खनाललाई भेटन चाहनेले उनको आवासमा १० मिटर परैबाट कुरा गर्नुपर्ने अवस्थाका बिच सोमबार काँग्रेसका नेता कार्यकर्ताहरुको नजिक रहेरपनि उनले ध्यानाकर्षणपत्र भने प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेललाई बुझ्न लगाएका थिए ।

नेपाली काँग्रेसले नगरपालिका भित्र भष्ट्राचार संस्थागत बन्दै गएको र कार्यकर्तामुखी बजेट बिनियोजन गरेर बिकासको नाममा राजनीतिक स्वार्थ पुरा गर्ने काम मात्र हुँदा नागरिकमा परिवर्तनको अनुभूति हुन नसकेको भन्दै नागरिकमुखी र बिकासको बास्तविक अनुभूति हुनेगरी बजेट निर्माण गर्न बेलकोटगढी नगरपालिकासंग माग गरेको छ ।

नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नम्वर २ , प्रदेशसभा ‘क’ प्रदेश समिति र बेलकोटगढी नगर ईकाईले सोमबार नगरपालिकालाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र बुझाउँदै बिकासको नाममा प्राकृतिक स्रोतहरुको दोहन गर्ने प्रबृत्तीको अन्त्य गरिनुपर्ने, बालबिकास सहयोगी र बिद्यालय कर्मचारीहरुलाई श्रम ऐन अनुसार पारिश्रमिक उपलब्ध गराईनुपर्ने र क्वारेन्टाईनमा बसेकाहरु सबैको पिसिआर परीक्षण गर्नुपर्ने माग समेत गरेको छ । काँग्रेसका प्रदेश सभापति यादवराज नेपाल र नगर सभापति गोकुलप्रसाद दहालद्वारा हस्ताक्षरित ११ बुँदे ध्यानाकर्षणपत्रमा नगरपालिकाभित्र बेथितीहरु बढ्दै गएको र नागरिकमा स्थानीय सरकारप्रतिको बिश्वास घट्दै गएकाले पार्टी भन्दा माथि उठेर नगर बिकासमा केन्द्रीत रहन आग्रह समेत गरिएको छ ।

यसमा तपाइको मत