कार्यकर्तालाई बजेट बाँडेर पछि अनुमोदन गर्ने काम बन्द गर्न बिदुर काँग्रेसको माग

बिदुर । नेपाली काँग्रेसको विदुर नगर समितिले प्रमुख र उपप्रमुखको जिम्मामा बजेट राखेर कार्यकर्तालाई बाँड्ने अनि पछि कार्यपालिकाबाट अनुमोदन गर्ने आर्थिक अनुशासन विपरितका कामहरु तत्काल बन्द गरी पारदर्शी रुपमा योजनाहरुको कार्यान्वयन गर्ने परिपाटी बसाल्न विदुर नगरपालिकासँग माग गरेको छ ।

मंगलबार विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई नगर समितिको तर्फबाट ११ बुँदे मागहरुसहितको ज्ञापनपत्र प्रस्तुत गर्दे काँग्रेस नगर सभापति नेत्रप्रसाद ढकालले उपभोक्ता समितिको नाममा आफू निकटकाहरुलाई मात्र राखेर आर्थिक अनियमितता भईरहेको र योजना छनौटमा नागरिकको सहभागिता सुनिश्चित नगरिएकाले दलीय आग्रहभन्दा माथि उठेर जनप्रतिनिधिमूलक संस्थाको रुपमा नगरपालिकाको कार्य संचालन गर्न माग गरेका थिए ।

काँग्रेस नगर समितिको ज्ञापनपत्रमा आगामी नीति तथा कार्यक्रममा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितहरुको उपचारलाई उच्च प्राथमिकतामा राखिनुपर्ने, नगरका सबै स्वास्थ्य संस्थाहरुको प्रभावकारी संचालन हुनुपर्ने र नगरको बिकास निर्माणको काममा सबै पक्षको सहभागिता रहने अवस्था बनाईनुपर्ने लगायतका मागहरु समाबिष्ट गरिएका छन् ।

त्यसक्रममा काँग्रेसको ज्ञापनपत्र बुझ्दै बिदुर नगरप्रमुख सञ्जु पंडितले नगरपालिका भित्र सहभागितात्मक बिकास प्रणाली अनुसार काम भईरहेको बताउँदै काम गर्ने सवालमा कतै कमजोरी भएको भए आफू सच्याएर अघि बढ्न तयार भएको प्रतिबद्धता जनाएका थिए ।

यसमा तपाइको मत