सञ्चारमैत्री विदुरका मेयर र पत्रकारलाई सभाबाट बाहिर जाने उर्दीबिच नमिलेको तालमेल

एसपी देबकोटा

बुधबार संवैधानिक प्रावधान अनुसार नुवाकोटका स्थानीय तहहरुले पनि आगामी आर्थिक बर्षका लागि आफ्ना नीति तथा कार्यक्रमहरु सार्वजनिक गरे । सहभागितात्मक बिकास प्रणाली अवलम्वन गरेर सार्वजनिक गरिने यस्ता योजनाहरु अधिकांश स्थानीय तहहरुमा सर्बसम्मत रुपमा पारित भएपनि केहीमा भने तनावपूर्ण अवस्था नै सिर्जना हुन पुग्यो । बिशेष गरेर तारकेश्वर, विदुर र शिवपुरीका सभाहरुमा विपक्षीहरुले नेतृत्वको आलोचना गर्दे नीति कार्यक्रम र बजेटको विरोध जनाए भने तारकेश्वर र विदुरमा त समाचार संकलनका लागि पुगेका पत्रकारहरु नै दुर्व्यवहारको शिकार हुनुपर्ने दुःखद अवस्था बन्यो ।

यो पंक्तिकार बिदुरको नगरसभामा उपस्थित रहेका कारण सोही सभामा पत्रकारहरुसँग जोडिएका केही बिषयहरुमा स्पष्ट पार्नु पंक्तिकारको धर्म नै हो । नुवाकोट जिल्लामा स्थानीय तहहरुको क्रियाशिलतासंगै सबै भन्दा बढी संचारमाध्यम र पत्रकारहरुसँग अपनत्व राख्ने बिदुर नगरपालिका र सञ्चारमैत्री छवी बनाउँदै आएका नगरप्रमुख सञ्जु पण्डितसँग जोडिएका केही तथ्यहरु बिना आग्रह सोच्ने र लेख्ने हो भने किमार्थ कल्पना भन्दा बाहिरको हो भन्ने पंक्तिकारको बुझाई छ ।

नुवाकोटको सदरमुकाममा रहेको र सबै भन्दा बढी स्रोत र साधन भएको नगरपालिका पनि भएकाले बिदुरका हरेक क्रियाकलापमा आम नागरिकको चासो हुनु स्वाभाविक नै हो र सदरमुकाम मै रहेर पत्रकारीता गर्नेहरुको संख्या अत्यधिक भएका कारण नगरपालिकाका सकारात्मक र नकारात्मक सबै समाचारहरु बाहिर आउनु अनौठो पनि हैन । तर भर्खरै संस्थागत हुँदै रहेका स्थानीय तहहरुका कमी कमजोरी सार्वजनिक गर्ने भन्दा पहिला नेतृत्वलाई सच्याउन लगाउनु महत्वपूर्ण हुने ठानेर पंक्तिकारले निरन्तर त्यही भूमिकामा आफूलाई उभ्याउँदै आएको हो । यही क्रममा पंक्तिकार लगायतकै आग्रहमा बिदुर नगरपालिकाले सबै संचारमाध्यमलाई नीतिगत रुपमै बिज्ञापन बितरण गरेर आफूलाई संचार क्षेत्रको बिकासमा सहयोगी भूमिकामा राख्दै आएको छ र यसमा नगरप्रमुख पंडितको भूमिका महत्वपूर्ण छ । नेतृत्वमा आएपछि निरन्तर संचार माध्यम र संचारकर्मीहरुसंग अन्तरक्रिया गर्ने, जो कोहीबाट गुनासो आएपनि त्यसको संबोधन गर्न तत्काल अग्रसरता लिने र आफ्नै कार्यकर्ताले गरेका बिकासका कामहरुको समेत प्रभावकारी अनुगमन गरी गरेको मात्र भुक्तानी दिने प्रमुख पण्डितको कामलाई सदैब मुक्तकण्ठले प्रशंसा गरिँदै आएको हो । पछिल्लो समय कोरोना संक्रमण रोकथाम र नियन्त्रणको क्षेत्रमा जिल्ला समन्वय समितिसँग मिलेर प्रमुख पंडितले लिएको अग्रसरता प्रशंसनीय रहँदै आएको छ र सबैले प्रमुख पण्डितको अग्रसरताको सम्मान पनि गर्दे आएका छन् । यसबिचमा नगर बिकासको सन्दर्भमा सबैलाई साथमै लिएर हिड्ने प्रमुख पण्डितको शैलीले नगर विकासका महत्वपूर्ण प्रयासहरु पनि सुरु भएका छन् । तर पछिल्लो समय एकाएक प्रमुख पंडितमा देखिएको कार्यशैलीगत परिवर्तन र जनप्रतिनिधि भन्दा पनि राजनीतिक दलको नेताको रुपमा परिवर्तित स्वभावले बिदुर नगरपालिका यसपटक नगरसभाबाट सर्बसम्मत निर्णय गर्न चुक्यो र यहीक्रममा प्रमुख पंडितले आफ्नो मिडियामैत्री स्वभावलाई समेत परिवर्तन गरेको पाईनु समग्रमा सकारात्मक मान्न सकिने बिषय हैन भन्दा चाटुकारहरु बाहेक अरुको बिमति हुन्छ जस्तो लाग्दैन ।

बुधबारको नगरसभाको सन्दर्भमा पंक्तिकारसहितका जिल्लाका पत्रकारहरुले प्रमुख पण्डितबाट कल्पना नै नगरेको ब्यवहारको साक्षात्कार गरे । सभाको सुरुमै ६ वटा वडामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा सञ्चालन प्रकृयामा एकलौटी गरेको भन्दै नाराबाजी गरे । यससँगै सशस्त्र र जनपद प्रहरीलाई हलमा ल्याईयो र नगरप्रहरी सहित मिलेर विरोधी आवाजहरुबाट मञ्च जोगाउने प्रयास पनि गरियो । यससँगै प्रमुख पंडित २५ मिनेट सभा स्थगित गरेर बाहिरिए अनि पुनः आउनासाथ सब भन्दा पहिला पत्रकारहरुलाई बाहिर निस्कन उर्दी जारी गरे । सबै पत्रकारलाई आफैंले औपचारिक निमन्त्रणा गरेर बोलाईएकोमा एक्कासी मेयरबाटै बाहिर निकाल्ने प्रयास भएपछि प्रमुख प्रशासकीय अधिकृत लगायत सबै आश्चर्यमा परेको देखिन्थ्यो । यसबिच केही पत्रकारहरुको निरन्तरको प्रतिरोधपछि पत्रकार भित्रै बसेर समाचार संकलन गर्ने वातावरण त बन्यो तर के कारण प्रमुख पण्डित उक्त निर्णय मा पुगे भन्ने चाहीँ अझैं रहस्यकै गर्भमा छ ।

हुनसक्छ सभाको क्रममा पत्रकारहरुबाट पनि केही गल्ती भएको हुनसक्छ या सभाको बिवादास्पद माहौल बाहिर नजाओस भन्ने नगर नेतृत्वको चाहना पनि हुनसक्छ । तर अहिलेको प्रबिधिको जमानामा जति लुकाएपनि केही लुक्दैन भन्ने तथ्य बिर्सनु आफैंमा दुर्भाग्यपूर्ण बिषय बनेको छ । यो पंक्तिकारले प्रमुख पण्डितले अघि सारेका सकारात्मक कामहरुको समाचार संकलन गर्दा प्रबक्ता नै बनेको भन्ने र नकारात्मक कामहरु सार्वजनिक गर्दा कुरा मिल्न छाडेको जस्ता अनेकन आरोपहरु समेत झेलेकै हो र पछिल्लो समय मजदुरहरुप्रति मेयरको अनुदार छबी उजागर गर्दा त जिल्लाका केही पत्रकारहरु नै पंक्तिकार बिरुद्ध प्रयोग गरिएको तथ्यले कतै नगरसभाको समयमा पंक्तिकारको उपस्थिती मेयरको चित्त बुझाईको बिषय नभएको पो हो की भन्ने पनि लागेको छ र पछिल्लो समय सत्य समाचार भन्दा प्रशंसायुक्त समाचारहरुमा मोह जाग्दै गएको भान पनि हुन थालेको छ ।

यो लेखमा पंक्तिकारले उठान गर्न खोजेको बिषय जनप्रतिनिधिमूलक संस्थाले संचार क्षेत्रलाई हेर्ने दृष्टिकोण ब्यक्तिगत नभई संस्थागत बिकासको सोचबाट निर्दिष्ट हुनु पर्छ भन्ने नै हो । पंक्तिकारले नगर प्रमुख पण्डितका धेरै ब्यवहारसँग नजिकबाट साक्षात्कार गरेको छ र पण्डितको संचारमैत्री छबी उजिल्याउन पंक्तिकारको पनि केही हदसम्म योगदान रहेको तथ्यपनि जानकारहरुबाट छिपेको छैन । आग्रह मात्र के हो भने ब्यक्तिगत संबन्ध र राजनीतिक आग्रहका आधारमा पछिल्ला समय नगर नेतृत्वले संचार क्षेत्रलाई हेर्ने नजर जसरी परिवर्तन गर्दे लगेको छ त्यसले केही समय राजनीतिक रुपमा पनि केही फाईदा त देला तर ब्यक्तिको बढ्दै गएको सामाजिक र राजनीतिक उचाईलाई यथास्थानमा राख्न भने पक्कै सहयोग गर्देन् । पक्कै पनि सभा सञ्चालनका आफ्ना मर्यादाहरु हुन्छन् र कसैलाई पनि उक्त मर्यादा नाघेर अघि बढ्ने छुट हुँदैन, पत्रकारहरु उक्त सभामा अमर्यादित थिए भने पत्रकार महासंघका अध्यक्ष नै कार्यक्रममा उपस्थित थिए र सहज रुपमा पनि पत्रकारहरुको बिषय उठान गर्न सकिने अवस्था थियो नै । तर एक्कासी सबै तहको सरकारमा आफ्नो पार्टीको सरकार रहेको दम्भमा संचारकर्मीहरुको पेशागत अधिकारलाई तेजोबध गर्ने जुन प्रयास गरियो यसलाई किमार्थ सकारात्मक मान्न सकिँदैन । प्रमुख पंडितसंगको सामिप्यताका आधारमा पंक्तिकार यो उनकै ब्यक्तिगत सोचको उपज हो भन्ने मान्न तयार छैन र सल्लाहकारसमेत पंक्तिकारसंगै रहेको अवस्थामा यस्तो गलत सल्लाह दिने कुन चाहीँ चाटुकार होे भन्ने शंसयले भने निरन्तर घर गरिरहेकै छ ।

अन्त्यमा, मेयर साप तपाईको सञ्चारमैत्री छवि र आफैं निर्णय गर्ने प्रबृत्तीले तपाईको राजनीतिक कद समेत बढाउँदै लगेको छ, कम्तीमा ब्यक्तिगत स्वार्थमा तपाईको प्रशस्ती गाउँदै हिँडेका अवसरबादीहरुको प्रशस्तीगानबाट मख्ख नपरी सबैलाई समटेर नगर बिकासमा केन्द्रीत हुने हिम्मत गर्नुस,पदको प्रभावमा कसैलाई तेजोबध गर्ने भन्दा सबैको प्रतिनिधि बन्ने प्रयत्न गर्नुस र हामीलाई फेरी पनि तपाईका राम्रा काम लेख्ने र गलत काममा औंला ठड्याउने मौका दिनुस । अस्तु !

यसमा तपाइको मत