नुवाकोटको पत्रकारीता: किन दुर्व्यवहारको शिकार भईरहेका छौं हामी ?

shiva devkota journalism nuwakot tws new

राज्यले चौथो अंगको रुपमा स्वीकारेको र समाजको तेस्रो आँखाको रुपमा मानिँदै आएको पत्रकारीता क्षेत्रमा धेरै प्रकारका चुनौतीहरु बढ्दै गएका छन् । राज्यको मूल कानुनले नै स्वतन्त्र प्रेसको मान्यतालाई स्वीकार गरेको भएपनि स्वतन्त्र प्रेस बिरोधी हर्कतहरु जहिँकतै देखिन थालेका छन् । आम नागरिकको सूचना संबाहकको रुपमा रहेको नेपाली प्रेस किन बारम्वार यो वा त्यो वहानामा प्रताडित भईरहनु परेको छ भनेर गम्भीर समिक्षा नगर्ने हो भने नेपाली प्रेसको आगामी दिन सहज होला भनेर भन्न सकिने अवस्था छैन ।

पछिल्लो समय नुवाकोटमा स्वतन्त्र प्रेस बिरोधी क्रियाकलापहरु बढ्दै गएका छन् । स्थानीय तहहरुको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा तारकेश्वर गाउँपालिका र बिदुर नगरपालिकामा देखिएका स्वतन्त्र प्रेस बिरोधी हर्कतहरुले लोकतन्त्रको खुलेर उपहास गरेको छ । समाचार संकलन गर्न गएका पत्रकारहरु दुर्व्यवहारको शिकार हुनुपर्ने अवस्था कसैका लागि पनि सुखद हुन सक्दैन । किन र के कारणले पत्रकारहरु दुर्व्यवहारको शिकार भईरहेका छन् भन्ने कुरामा धेरै अल्झिनु भन्दा पनि दुर्व्यवहारको शिकार हुनमा हामी स्वयं चाहीँं कति जिम्मेवार छौं भन्ने समिक्षा गर्नु जरुरी भईसकेको छ । संबिधान प्रदत्त अधिकारको नाममा कतै हामी स्वच्छन्द भईरहेका त छैनौं ,या हाम्रो समाचार संकलन र संप्रेषणको तौरतरिकामा कतै समस्या त छैन भन्ने यावत सवालहरुमा गम्भीरताका साथ आत्मसमिक्षा गर्दे स्वतन्त्र प्रेसको गरीमालाई अक्षुण्ण राख्नु सबै पत्रकारहरुको धर्म हो र यसका लागि मनै देखि सबै प्रतिबद्ध हुनु जरुरी छ ।

वास्तवमा भन्ने हो भने नुवाकोटमा पत्रकारहरुको दुब्र्यबहारको घटनामा हाम्रो कार्यशैली र पत्रकारीताको तौरतरिका पनि कम्ता जिम्मेवार छैन । पछिल्लो समय हामी पत्रकारीता भन्दा बढी बिज्ञापनकारीतामा रमाउन थालिसकेका छौं । समाजको तेस्रो आँखालाई संचारमाध्यम चलाउन चाहिने स्रोतको खोजीले नराम्रोसंग पट्टी लगाईसकेको छ भने नागरिकका आवाजहरु बुलन्द गर्नुको साटो कसलाई खुसी बनाएर ठूलै बिज्ञापन हात पार्न सकिन्छ भन्ने मै हाम्रा सोचहरु केन्द्रीत हुन थालिसकेका छन् । अप्ठ्यारो नमानि भन्दा नुवाकोटका लगभग सबै पत्रकारहरु मिडियाको मालिक बनिसकेको र मिडिया संचालनका लागि स्रोतको खोजी गर्ने ध्याउन्न मै सबै केन्द्रीत रहँदा हामीबाट स्वतन्त्र रुपमा समाचार संकलन र संप्रेषण भएको मान्न कोही पनि तयार नभएको अवस्थाले दुब्र्यबहारका घटनाहरु बढ्न थालेका छन् भन्दा अत्युक्ति नहोला ।

तारकेश्वरमा नुवाकोटका उर्जावान पत्रकार सुजित भण्डारी दुब्र्यवहारको शिकार बने भने बिदुर नगरपालिकाको कार्यक्रममा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष सचिवसहित सबै पत्रकारहरुले नसोचेको अवस्थासंग साक्षात्कार गर्नुपर्ने अवस्था सिर्जना भयो । दुबै स्थानीय तहमा पत्रकारहरुमाथि जे भयो त्यो न क्षम्य छ न त्यसलाई मिलापत्रको नाममा स्वीकार्न सकिने अवस्था छ । तर दूर्भाग्यको बिषय हामी ती घटनाहरुलाई राजनीतिक रंग दिन आफैं उद्धत भईरहेका छौं । कुनै घटना आफूले मानेकाले गराएको र कुनै घटना आफूले नरुचाएकाले गराएको मान्दै त्यसलाई आवश्यकता भन्दा बढी गलत रुपमा प्रचारित समेत गराईरहेका छौं । तारकेश्वरमा सुजितले भोगेको दुर्व्यवहार र बिदुरमा आम पत्रकारले भोग्नु परेको नियती कसैले आफ्नो स्वार्थमा मिलाप गराउन खोज्दैमा भूलिहाल्न सक्ने अवस्था छ जस्तो पंक्तिकारलाई लाग्दैन । यी दुई घटनामा पत्रकार संग सम्वद्ध संस्थाहरुको फरक फरक भूमिकाका कारण आगामी दिनमा यस्ता घटनाहरुको पुनराबृत्ती हुनेमा शंका छैन भने पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ आफ्नो साझा चरित्रबाट बिमुख हुन पुगेको बिश्लेषण गर्नु अन्यथा पनि हुन सक्दैन ।

नुवाकोट जिल्लामा पत्रकारहरु माथि दुर्व्यवहारका घटनाहरु बढ्दै जानुमा हामी स्वयं पनि धेरै हदसम्म जिम्मेवार छौं । पत्रकारहरु बिच पेशागत एकता हुनुको साटो सहकर्मीको तेजोबध गरेर बिज्ञापन बटुल्ने प्रबृत्ती बढ्दै जाँदा पत्रकार र यस सम्बद्ध संस्थाहरुलाई हेर्ने आम दृष्टिकोण फरक बन्दै गएको छ । एउटा सहकर्मीको पीडामा सहयात्री बन्नुको साटो यसलाई खुईल्याएर आफ्नो मिडियालाई आर्थिक रुपमा सक्षम बनाउन सकिन्छ भन्ने सोचले बढावा पाउँदै जाँदा आम पत्रकारहरु यसको नकारात्मक असरहरुबाट प्रताडित बन्दै आएका छन् । हामी पत्रकार यही समाजको एउटा हिस्सा हौं भन्ने सोच भन्दा हामीमा सबै क्षेत्रमा बिशेषाधिकार छ भन्ने गलत मान्यताले बढावा पाउँदै जाँदा आम नागरिकले हामीलाई हेर्ने तरिकामा ब्यापक परिवर्तन हुँदै गएको छ । तसर्थ । सबै भन्दा पहिला समाजप्रतिको आफ्नो दायित्वका बारेमा हामी स्वयं स्पष्ट बनौं, ब्यक्तिगत बिचारलाई थाती राखेर समाज रुपान्तरणको पक्षमा क्रियाशिल बनौं, धन कमाउने भन्दा नागरिकको मन जित्ने प्रयास गरौं, यसमै हामी सबैको कल्याण छ , अस्तु !

यसमा तपाइको मत