प्रधानमन्त्रीको पक्षमा विदुरमा लाग्यो, “नारा बोली अलि पिरो हो, केपी ओली हिरो हो “

kp oli

विदुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरबिरोध चर्कँदै जाँदा आ–आफ्नो पक्षमा समर्थन देखाउने होडबाजीले देशब्यापी रुप लिएको छ । केही अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका युवा बिद्यार्थीहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमै बोलाएर आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिएसंगै देशब्यापी रुपमा प्रधानमन्त्रीका समर्थकहरुले प्रदर्शनलाई निरन्तरता दिईरहेका छन् ।

यसैक्रममा बुधबार नुवाकोटको सदरमुकाम विदुरमा पनि प्रधानमन्त्री ओली समर्थक नेकपाका युवा बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बिदुरस्थित पार्टी कार्यालय नजिकबाट सुरु गरिएको प्रदर्शन सदरमुकाम परिक्रममा पछि लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा युवा विद्यार्थीहरुले बोली अलि पिरो हो, केपी ओली हिरो हो भन्ने नारालाई बढी प्राथमिकतामा राखेर प्रस्तुत गरेका थिए । कोणसभामा नेकपा नुवाकोटका नेता अनुजकुमार श्रेष्ठले मुलुकलाई समृद्धिको यात्रामा लम्क्याउँदै देशभक्तिको अनुपम नमुना प्रदर्शन गरेर आम नागरिकको मन जित्न सफल प्रधानमन्त्री केपी शर्मा ओलीको बिपक्षमा उठेका आवाजहरु राष्टहित विपरित रहेको भन्दै सत्तास्वार्थमा लिप्त भएर गलत क्रियाकलाप नगर्न ओली ईतरका नेताहरुलाई चेतावनी समेत दिएका थिए ।

नेकपाका युवा बिद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रदर्शनमा पूर्व एमाले समर्थितहरुको मात्र उपस्थित रहेको थियो । पूर्ब माओवादी निकट बर्तमान अनेराश्ववियु नुवाकोटमा सह–संयोजक बिनोद कोईरालाले त सामाजिक सञ्जालमा लेखेर नै प्रदर्शनको बिरोध गरेका छन् । उनले भनेका छन् –“सडकमा रोईलो देखाएर अनावश्यकरुपमा सरकार अनि पार्टीलाई कमजोर बनाउने काम हुँदैछ, आजको अनावश्यक प्रदर्शनमा उपस्थित नहुनुहोला ।”

सत्तारुढ नेकपाको आन्तरिक बिवाद चर्किदै जाँदा पटकपटक स्थगित भएर बुधबारका लागि डाकिएको स्थायी कमिटी बैठक शुक्रवारसम्मका लागि पुन: स्थगित गरेर दुई अध्यक्ष ओली र प्रचण्डबिच सहमति खोज्ने अधिकतम प्रयास भईरहेको बताईरहेका बेला बुधबार काठमाडौं लगायत देशका अधिकाँश शहरहरुमा प्रधानमन्त्री ओलीको बिकल्प खोज्नु पार्टी र मुलुकका लागि दूर्भाग्यपूर्ण हुने भन्दै प्रदर्शन सुरु गरिएको छ ।

यसैगरी प्रधानमन्त्री ओली समर्थकहरुले उनको निर्बिकल्पताको वकालत गरिरहँदा उनी ईतरकाहरुले भने ब्यक्तिहैन बिधिलाई प्राथमिकता दिनुपर्ने भन्दै तल्लो तहदेखिनै आवाज उठाउन थालेका छन् । यसले नेकपा भित्रको बिवाद केन्द्रीय स्तरमा मात्र नभई तल्लो तहहरुसम्म पुगिसकेको स्पष्ट पारेको छ ।

यसमा तपाइको मत