कोभिड-१९: क्वारेन्टाईन बाहिरका व्यक्तिमा संक्रमण देखिँदा कन्ट्रयाक्ट ट्रेसिङमा समस्या

विदुर । मुलुकमा कोरोना संक्रमण बढ्दो क्रममा छ । पछिल्ला केही दिन संक्रमण दर केही न्यून भएको देखिएपनि परीक्षणको दायरा क्वारेन्टाईन भन्दा बाहिर बढी नभएका कारणमात्र यस्तो भएको हुनसक्ने जनस्वास्थ्य विज्ञहरुको बुझाई छ । विशेष गरेर सरकारले विभिन्न देशहरुबाट फर्किएर आ-आफ्ना स्थानीय तहका क्वारेन्टाईनमा रहँदै आएकाहरुको पिसिआर बिधिबाट कोरोना परीक्षण गर्ने कामलाई तिब्रता दिएको कारण हालसम्म कोरोना संक्रमणको समुदायमा फैलावटको खासै डरलाग्दो अवस्था नदेखिएपनि समुदायमा परीक्षण गर्न सुरु गरेपछिमात्र यसको फैलावटको बास्तविक अवस्था पहिचान गर्न सकिने बिज्ञहरु बताउँछन् ।

सरकारले क्वारेन्टाईनमा रहेकाहरुको परीक्षण गरि उनीहरुमा संक्रमण देखिएपछि उनीहरुसंग नजिकको सम्पर्कमा रहेकाहरुको पनि पहिचान गरेर परीक्षण गराउँदै आएको छ । बिदेशबाट आएर सिधै क्वारेन्टाईनमा रहेकाहरुसंगको सम्पर्कमा रहेकाहरुको पहिचान गर्ने कामलाई खासै जटिल पनि मानिएको छैन । तर पछिल्लो समय सरकारले ब्यक्ति स्वयंले चाहँदा पनि परीक्षण गर्न सक्ने प्रबन्ध गरेसंगै क्वारेन्टाईन बाहिर रहेकाहरुमा संक्रमण देखिँदा भने कन्ट्रयाक्ट ट्रेसिङको काममा समस्या देखिने गरेको स्वास्थ्य कार्यालय नुवाकोट सम्बद्ध स्रोतले बताएको छ ।

यसैक्रममा बुधबार पाटन अस्पतालमा परीक्षण गराएका विदुर नगरपालिका वडा नम्वर ३ का एक ३० बर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसंग नजिकको सम्पर्कमा रहेकाहरुको पहिचान गर्न स्वास्थ्य कार्यालयले समस्या भोग्नु परेको छ । अन्य कुनै रोगको उपचारका क्रममा आफ्ना दाजु भाउजुसंग पाटन अस्पताल पुगेका उनीमा परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई पाटन अस्पतालकै आईशोलेसनमा राखिएपनि उनको फोन सम्पर्क समेत बन्द भएका कारण उनीसंग नजिकको सम्पर्कमा रहेकाहरुको पहिचान र उनको यात्रा विवरण संकलनमा समेत समस्या भएको कार्यालयले जनाएको छ । यद्यपि कार्यालयले वडा कार्यालय संगको समन्वयमा बिहिबारबाट कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गरिसकेको र आवश्यक परेकाहरुको स्वाव संकलन गरी परीक्षणका लागि समेत पठाईने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यसअघि काठमाडौंमा पिसिआर परीक्षण गराई नतिजा आउन ढिलाई भएपछि घर फर्किएर चिया पसल संचालन गरिरहेकी किस्पाङ गाउँपालिका वडा नम्वर २ की एक किशोरीमा संक्रमण देखिँदा पनि उनको नजिकको सम्पर्कमा रहेकाहरुको पहिचान जटिल बनेको थियो । पसलमा काम गरिरहेका कारण अत्यधिक ब्यक्तिसंग सम्पर्क हुनसक्ने भएपनि १२ जनाको मात्र स्वाव संकलन गरि परीक्षणका लागि पठाईएकोमा बिहिबार सबैको नतिजा नेगेटिभ आएको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय स्रोतका अनुसार जिल्ला भित्रका क्वारेन्टाईनहरुमा रहेकाहरुको परीक्षणको नतिजा पोजेटिभ आउँदा कन्ट्रयाक्ट ट्रेसिङ र आईशोलेसनमा राख्ने काम सहज भएपनि मन्त्रालयको बुलेटिनमा आएपछि मात्र जिल्लाका कुनै ब्यक्ति संक्रमित भएको थाहा पाउने अवस्थाले काम गर्न केही असहज भईरहेको छ । तथापि मन्त्रालय र सम्बद्ध स्थानीय तहहरुसंगको समन्वयमा संक्रमित र संक्रमितका नजिकको सम्पर्कमा रहेकाहरुको पहिचान, परीक्षण र उपचारको कामलाई प्रभावकारी बनाईएको कार्यालयको दावी छ ।

नुवाकोटका २९ जनामा कोरोना संक्रमण

बिदुर । बिहिबार राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर बिधिबाट गरिएको परीक्षणमा बेलकोटगढी नगरपालिकाको क्वारेन्टाईनमा रहँदै आएकी एक ३६ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएसंगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

कोरोना संक्रमित मध्ये १७ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने बाँकी संक्रमितहरु मध्ये ६ जना त्रिशूली अस्पताल ,१ जना खरानिटार अस्पताल र १ जना पाटन अस्पतालको आईशोलेसनमा उपचाररत छन् ।

खरानिटार अस्पतालमा उपचाररत रहेका एक युवा संक्रमण मुक्त भएर बिहिबार घर फर्किएको तादी गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत