सूचित जनता, प्रतिबद्ध सञ्चार क्षेत्र र सुशासनयुक्त प्रशासन

झंकनाथ ढकाल

२०६३ साल पछाडि मोफसलमा पनि संचार क्षेत्रको बिकास परिमाणात्मक र गुणात्मक दुबै हिसावले भईरहेको छ । सामाजिक समस्याहरुको समाधान गर्ने र सामाजिक अवसरहरुको प्रयोग गर्ने सवालमा भईरहेका क्रियाकलापहरु जनताको नजरबाट यथार्थ रुपमा अगाडि ल्याउने सन्दर्भमा मोफसलका संचारमाध्यमहरुले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । खासगरी स्थानीय सरकारहरु नबनिसकेको अवस्थामा वा स्थानीय सरकारको नेतृत्वमा जनप्रतिनिधिहरु निर्वाचित भईनसकि कर्मचारीहरुले नेतृत्व गर्नुपर्दाको अवस्थामा र त्यसपछिको अवस्थामा पनि मोफसलको पत्रकारीताले निरन्तर स्थानीय सरकारका कार कारबाहीहरुलाई पारदर्शी र नागरिकप्रति जवाफदेही बनाउन खेलेको भूमिकाको उच्च प्रशंशा गर्ने पर्छ । निश्चय नै मोफसलको पत्रकारीता आफैंमा चुनौतिपूर्ण छ र अझ यसलाई ब्यवसायिक बनाउँदै पत्रकारीता गरेकै भरमा जीवनयापन गर्न सकिन्छ भन्ने भावना जागृत गराउनु त झनै सहज छैन । यसका बाबजुद पनि नुवाकोटका संचारकर्मीहरुले जसरी सकारात्मक रुपमा आफूलाई क्रियाशिल गराईरहनुभएको छ त्यो आफैंमा अनुकरणीय र प्रशंसनीय पनि छ ।

पछिल्लो समय खुला सरकारको अवधारणा अन्तर्गत सरकारी निकायका क्रियाकलापहरु स्वत ः प्रकाशन गर्नुपर्छ भन्ने मान्यताले महत्व पाएको छ । जनताको करबाट प्राप्त रकमको कहाँ कति खर्च गरियो,के काममा खर्च गरियो भन्ने छर्लङ्ग देखाईदिनुपर्छ भनेर जिल्लाका सबै सूचना अधिकारीहरुलाई यसप्रति प्रतिबद्ध बनाउँदै नुवाकोटका यसको ब्यवहारिक प्रयोग गर्न थालिएको छ । सरकारी क्रियाकलापहरुका बारेमा जनतालाई पूर्ण जानकारी हुँदा राज्यप्रति जनताको बिश्वास बढ्ने मान्यताका कारण यसको प्रयोग आवश्यक ठानिएको हो र यो सुशासनको महत्वपूर्ण पाटो पनि हो । यसअघि जिल्लामा कुनै पनि कार्यालयको बार्षिक कार्ययोजना नभएको सन्दर्भमा जिल्ला प्रशासन सुधार योजना तयार गरिएको छ र अव चाँडै जिल्ला प्रशासनमा डिजिटल नागरिक बडापत्र राख्ने काम हुदैछ भने सेवाग्राहीले स्थानीय तहको सिफारिसको आधारमै सेवा पाउने र अन्य कुनै निवेदन लेख्ने झण्झट ब्यहोर्नु नपर्ने नियम समेत कार्यान्वयनमा ल्याईएको छ ।

हामी संघीय शासन ब्यवस्थामा छौं र नेपालका स्थानीयतहहरुले संबिधानत ः प्राप्त गरेका अधिकारहरु संघीयताको सौन्दर्य मानिएको छ । तथापी भर्खरै कार्यान्वयनमा आएका र आफ्ना अधिकारहरु प्रयोगमा अभ्यस्त बन्दै गरेका स्थानीय सरकारहरुका काम गर्ने तौरतरिकाका कारण अपेक्षित सफलता प्राप्त नभईरहेका र यदाकदा समस्याहरु पनि आईरहेका देखिन्छन् । यस्तो अवस्थामा भर्खरै जन्मेका र बामे सर्दे गरेका स्थानीय सरकारहरुलाई नागरिकप्रति अझै जिम्मेवार बनाउने, उनीहरुका सकारात्मक कामहरुको उजागर गरी प्रोत्साहित गर्ने र गलत कामहरुमा खवरदारी गरी सच्चिएर अघि बढ्न प्रेरितगर्ने काममा पत्रकारीता क्षेत्रले आफूलाई क्रियाशिल गराउनुपर्ने मेरो मान्यता छ । हामीलाई खोज पत्रकारीता मार्फत सुशासन प्रबद्र्धनका क्षेत्रमा देखिएका कमजोरीहरु सुधारका लागि दिईने सुझावहरु सदैब ग्राह्य हुनेछन् र सबैको प्रयासमा नुवाकोट जिल्लालाई हरेक हिसावबाट नमूना योग्य बनाउन हामी सबैको साथ लिएर अघि बढ्नेछौं । जानकार जनता, प्रतिबद्ध संचार र सुशासनयुक्त प्रशासन नै संघीयताको सार्थकता हो र यही मान्यताका साथ हाम्रा सबै क्रियाकलापहरु अघि बढ्नेछन् ।

(नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालद्वारा उत्तरगया दैनिकको बार्षिकोत्सवको अवसरमा ब्यक्त बिचारहरुको सम्पादित अंश)

यसमा तपाइको मत