नीतिगत कुरामा सम्झौता हुँदैन, कानुन कार्यान्वयनमा ‘लञ्जु फञ्जु’ चल्दैन : एसपी कार्की

बिदुर । केही दिन अघिमात्र नुवाकोटको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका प्रहरी उपरीक्षक तुलबहादुर  कार्कीले आफ्नो कार्यकालमा नीतिगत कुरामा कसैसंग कुनैप्रकारको सम्झौता नगर्ने बताउँदै यो वा त्यो बहानामा प्रहरीलाई प्रभावित बनाउन खोज्ने ‘लञ्जु फञ्जु’हरुको प्रभावबाट सिंगो संगठनलाई मुक्त राखि प्रहरीलाई जनताको सच्चा साथी बनाउने प्रतिबद्धता जनाएका छन् ।

सोमबार उत्तरगया अनलाईनका लागि सम्पादक शिव देबकोटासंग कुरा गर्दे प्रहरी उपरीक्षक कार्कीले प्रहरी प्रमुखको परिवर्तनले प्रहरीको कार्यशैलीमा कुनै परिवर्तन नहुने र आफ्नो कार्यकालमा बिगतका अनुकरणीय कार्यहरुको निरन्तरतासहित नागरिकको बिश्वास आर्जन गर्दे कानुन कार्यान्वयनको मजबुत अवस्था निर्माणका लागि सबै पक्षसंग समन्वयात्मक सहकार्य गरिने समेत स्पष्ट पारे ।

आफ्नो कार्यकालमा कानुन बिपरित कार्य गर्ने जो कोही भएपनि दण्डित हुने र कानुन बिपरित काम गर्नेका पक्षमा जो कोही आएपनि आफूलाई त्यसले प्रभावित नपार्ने बताउँदै कुराकानीका क्रममा प्रहरी उपरीक्षक कार्कीले संगठन भित्र पनि राम्रो गर्ने पुरस्कृत हुने र नराम्रो गर्नेलाई दण्डित गर्ने नीति अख्तियार गर्दे प्रहरीलाई कानुन कार्यान्वयनको भरपर्दो आधार स्तम्भ बनाउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत हुने जिकिर गरे ।

उत्तरगया अनलाईनको अर्को एक जिज्ञासामा प्रहरी उपरीक्षक कार्कीले नुवाकोेटका नदीहरुबाट नदीजन्य पदार्थको अबैध उत्खनन्मा प्रहरीले कानुन कार्यान्वयन र आफ्नो साँगठनिक कर्तब्यको उच्चतम नमुना प्रस्तुत गर्ने बताउँदै प्रहरीको नाम लिएर कानुन बिपरित काम गर्नेहरु बिरुद्ध सिंगो संगठन क्रियाशिल भई नदी स्वच्छता र कानुन कार्यान्वयन मार्फत नागरिकको बिश्वासिलो संगठनको रुपमा प्रहरीलाई दर्ज गर्ने प्रतिबद्धता समेत जनाए ।

यसमा तपाइको मत