जोखिम क्षेत्रमा बसोबास गर्दे आएका घ्याङफेदीका २९ परिवारको स्थानान्तरण

बिदुर । दुप्चेश्वर गाउँपालिका वडा नम्वर १ घ्याङ्फेदी स्थित नेगीको जोखिम क्षेत्रमा बसोवास गर्दे आएका २९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बस्ती भन्दा एकसय ५० मिटर माथि रहेको पल्सुङ ओढारको बिशाल चट्टानले क्रमशः आफ्नो स्थान छाड्दै जान थालेपछि जोखिममा परेकाहरुलाई जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सहजीकरण समिति, जिल्ला बिपद व्यवस्थापन समिति र दुप्चेश्वर गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

२०७२ सालको भूकम्पपछि जोखिममा परेको नेगीका ३२ परिवार मध्ये १३ परिवारलाई हाईड्रोपावरको चौरमा, १० परिवारलाई सल्लेरीडाँडामा र ६ परिवारलाई दोङचेमा स्थानान्तरण गरिएको छ । उनीहरुका लागि गृह मन्त्रालयबाट प्राप्त २३ थान टेण्ट र १२ थान तार्पोलिन तथा जिल्ला आपतकालिन गोदाम घरमा रहेको १२ थान टेण्ट र २० थान तार्पोलिन उपलब्ध गराईएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

 

२०७२ सालको भूकम्पपछि खानी तथा भूगर्भ बिभागले उक्त क्षेत्रको भौगर्भिक अध्ययन गरेर बस्ती जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानान्तरण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बुझाएको थियो । तर जोखिम क्षेत्रबाट स्थानीयहरुलाई सुरक्षित स्थानान्तरण गर्ने पहल नभएपछि जोखिम क्षेत्रमै घर बनाएर बसिरहेका स्थानीयहरुको पाँच बर्षपछि सुरक्षित स्थानमा स्थानान्तरण भएको छ । गत भदौ ६ गते जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तमाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिं तमाङ, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले जोखिम क्षेत्रको स्थलगत अवलोकन गरेसंगै स्थानान्तरणको प्रयास सुरु भएको थियो । यही क्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तमाङ, जिल्ला समन्वय समिति, दुप्चेश्वर गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको निरन्तरको प्रयासका कारण नेगीका २९ परिवारले सुरक्षित बासस्थान पाएको र अवका दिनमा उनीहरुको बसोवासको ब्यवस्थित प्रबन्धका लागि सबैको ध्यान जानुपर्ने दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिं तमाङको भनाई छ ।

२०७२ सालको भूकम्पका कारण डगमगिएको नेगीको बस्ती भन्दा एकसय ५० मिटर माथिको चट्टानले यस बर्षको भारी बर्षाको कारण बिस्तारै आफ्नो स्थान छाड्दै गईरहँदा उक्त क्षेत्रमा जोखिम बढ्दै गएकाले तत्काल स्थलगत अनुगमन गरी सरोकारवाला निकायहरुसंगको समन्वयमा बस्ती स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

यसमा तपाइको मत