नुवाकोट – युवा कवि ‘देवकी अभिलाषी’ को एकल कविता वाचन सम्पन्न भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा विदुरमा भएको एकल कविता वाचन कार्यक्रममा कवि अभिलाषीले आफ्नो साहित्यिक यात्राका क्रममा लेखेका कविताहरू वाचन गरेका थिए ।
विगत १५ वर्षदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएकी कवि अभिलाषीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७७ मा तृतीय स्थान हासिल गर्न सफल भएको ‘आमा: एक विश्वविद्यालय’ कविता समेत वाचन गरेका थिए ।
दोलखाका स्थायी निवासी अभिलाषीको सिर्जनामा महिला र प्रकृतिको भावधारा पाईन्छ । उनका ‘धरातलभित्रको जिन्दगी’, ‘भावनाको फूलहरु’ नामका कविता संग्रह र ‘आसु पिउँदै हाँस्नेहरु’ नामक गीत संग्रह बजारमा छन् । उनी एक बुटिक व्यवसायी पनि हुन् ।
कार्यक्रमका प्रमुख अतिथी संविधान सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले राजधानी कविता वाचन गरेका थिए । राजधानीको चक्रपथ, धुलो लगायतका तार्किक विषय समेटेर समसामयिक राजनीतिक अस्थिरतालाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कविहरु श्रीराम श्रेष्ठ, रामकृष्ण भट्ट, रामकृष्ण ‘अमर’, भगवती लामालगायतले कविता वाचन गरेका थिए ।
—
राष्ट्रिय कविता महोत्सव–२०७७ मा तृतीय स्थान हासिल गर्न सफल देवकी अभिलाषीका कविता यस प्रकार छन्:
आमा : एक विश्वविद्यालय
चराहरुले मङ्गल गीत गाउँनु अघि
जीवनको आरती गाउँछिन् आमा
अनि मात्र बिस्तारै खुल्न थाल्छन्
घरका श्यामश्वेत आँखाहरू ।
अँध्यारोको अन्तिम गीत नसकिदै
बज्न थाल्छ पँधेरोमा
सङ्गीतको आदिम धून
पानीका घैलाहरुमा सुरु हुन्छ
जीवनको प्रिय सिम्फोनी
कलिलो घाम बामे नसर्दै
फर्किन्छिन् आमा जङ्गलको रंगशालाबाट
र सल्काउँछिन् भोक जस्तै दाउराहरुलाई
अक्सर हरेकदिन
बनाउँछिन् आमा हाम्रो लागि
आँगनभरी उज्यालो रङ्गहरुको क्यान्भास ।
हामीले गाउँ छाडेपछि
बर्षौदेखि एक्लैछिन् आमा
इतिहास जस्तो घरमा
जुनकिरीहरु साथी छन्
बटुवाले हिँड्न भुलेका
रित्ता बाटोहरु जस्ता यादहरु साथी छ्न्
बर्षौदेखि फ्रेममा बेहिसाब हाँसिरहेका
बा का धमिला तस्विरहरू साथी छन्
लाग्छ
मेरी आमा
कसैले लेख्न नसकेको
एउटा अदभूत महाआख्यान ।
आमाको अनुहार भरि छन्
पहाडी बाटो जस्तै नागबेली सपनाहरु
जुन बाटो हिँडेर आईपुगेको हुँ म
सपनाको आधार शिविर सम्म
हिउँ जस्तै फुलेको केस
सुरुङ्ग जस्तै गहिरिएका आँखा
हिँड्न सिकाउँने आमाका प्रेमिल औँला
पृथ्वी थामिरहेका खुट्टा
आफ्नै जिन्दगी भन्दा गह्रौ
आकाश बोकिरहेको शीर
हरेक दिन पढिरहेछु म आमाको आँखामा
प्रेमको अन्तिम सौन्दर्यशात्र ।
एक साँझ
शहरमा लोरी गाइरहेका चराहरुसँग
म पनि उडेर गए गाउँमा
र भेटें आमालाई
बूढो जुन जस्तै आमाको काखमा
बगिरहेथ्यो एउटा कर्णाली ।
अहो ! मलाई मेरी आमा
धरतीको सबभन्दा
महान विश्वविद्यालय लाग्छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
