नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोटका एक अधिकृतले अन्नपूर्णकर्मी देवचन्द्र भट्टलाई दुर्व्यवहार गरेको अन्नपुर्ण पोस्टले लेखेका छन् । समाचारमा सेवाग्राहीको गुनासोका विषयमा जानकारी लिन पुग्दा प्रशासनिक अधिकृत सुरेश श्रेष्ठले अन्नपूर्णकर्मी भट्टलाई गालीगलौज गर्दै आक्रमणसमेत गरेको उल्लेख छ ।

रेडियो भैरवीका स्टेशन म्यानेजर र नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि पनि रहेका पत्रकार भट्टले कामको सिलसिलामा काम नगरिदिएको भनेर अधिकृत श्रेष्ठबाट आफुलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
सेवाग्राहीको नागरिकता बनाउनको लागि आवश्यक पूर्ण सक्कल कागजात पुरा नभएकोले इमेलमार्फत धादिङबाटै मगाउनुपर्ने भएकोले समयमा भन्दा ढिला हुन पुगेको अधिकृत श्रेष्ठले डबली खबरसंगको कुराकानीमा बताए । कलाकार यादव वैरागी आफ्नी धर्मपत्नीको नेपाली नागरिकता बनाउन आवश्यक कागजपत्रसहित जिल्ला प्रशासन कार्यालय आएकोमा आवश्यक कागजात नपुगेको र जिल्ला बाहिरको नागरिक भएपछि धादिङ प्रशासनमै बुझ्नुपर्छ भन्दा मिथ्या आरोप सहित समाचार सम्प्रेषण भएको श्रेष्ठले बताए ।
यता अधिकृत श्रेष्ठले आफ्नो जीवनको २३ वर्ष पत्रकारितामै बिताएका देवचन्द्र भट्टमाथि गालीगलौज र आक्रमण गरेको दर्जनौ सेवाग्राही र आफैंले प्रत्यक्ष देख्दासमेत सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले कुनै पनि कारवाही गर्न नसकेको पत्रकार भट्टको भनाइ रहेको श्रेष्ठको फोटोसहित समाचारमा उल्लेख गरेको छ । यस सम्बन्धमा पत्रकार भट्टले शुक्रबारै नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई तत्काल उजुरीसहित जानकारी गराउँदासमेत कुनै सुनुवाई नगरेको पत्रकार भट्टले गुनासो गरेको पनि जनाएको छ ।
पत्रकार भट्टले उनीमाथि भएको आक्रमण, कर्मचारी आतंक तथा गालीगलौज गर्ने अधिकृत श्रेष्ठमाथि कारवाहीको माग गर्दै शुक्रबार नै गृहमन्त्रालयमा सम्बन्धित विभागका प्रमुख तथा सहसचिव मुकुन्द निरौलासमक्ष उजुरी दिएका छन् । यस सम्बन्धमा पत्रकार भट्टले पत्रकार र पत्रकारितासँग आवद्ध विभिन्न संघसंस्थामा उजुरी दिएका छन् ।
पत्रकार भट्टले डबली खबरसँग कुरा गर्दै भने “मैले म माथि भएको दुर्व्यवहार विभागमा उजुरी दिएको छु, आज शनिबार भएर मात्र हो । मैले कुनै किसिमको लोभमा काम नगरेको बताए । एउटा कलाकारको सम्बन्ध र जिल्लावासीको नाताले काममा सहयोग गरेको मात्र गर्दा श्रेष्ठले आफुमाथि यस्तो किसिमको दुर्व्यवहार गरेको हो ।”
श्रेष्ठले त्यस्ता कुनै गालीगलौज नगरेको तर रुखो स्वरमा पत्रकार भट्टजीले अनादर रुपमा “यो काम गरिदेऊ” भनेको आफ्नो कामको शिलशिलामा प्रशासन पुगेका प्रत्यक्षदर्शी सञ्चारकर्मी शम्भुराम दाहालले बताए । साथै दाहालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पनि पोस्ट गरेका छन् ।


© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
