नुवाकोट – इन्धनलगायतका निर्माण सामग्रीमा मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योगमा गम्भीर समस्या परेको भन्दै नुवाकोट निर्माण व्यवसायी संघले प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय निर्देशनानुसार देशभरका ७७ वटै जिल्लामा आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गर्दै नुवाकोट निर्माण व्यवसायी संघले बिहिबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्रण र समायोजन गर्न माग गरेको हो ।
संघका कार्यसमिति सदस्य श्रीराम तामाङ नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधनको त्रुटि सच्चाउने, बीमा प्रिमियम दरमा भएको मुल्यवृद्धि र राजश्व सम्बन्धि १० बुँदे मागहरु उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ “जटिल अवस्थाबाट गुज्रिरहेको नेपालको निर्माण उद्योगलाई सहि दिशा दिई भौतिक पूर्वाधारको क्षेत्रमा समर्पित सबै खाले निर्माण व्यवसायीहरुको वृद्धि विकासका लागि राष्ट्रिय भेला-२०७८ बाट पारित भएका उल्लेखित निर्णयहरु तत्काल कार्यन्वयन गर्नुको कुनै विकल्प नरहेको यस महासंघको ठहर छ ।”
सरकारमार्फत यस समस्याको सूक्ष्म विश्लेषण र अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि समेत ठोस पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ । आफ्ना मागहरु चैत २४ गते एकहप्ताभित्र सम्बोधन नभए संघको नेतृत्वमा आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ रिसालले व्यवसायीको ज्ञापनपत्र सम्बन्धित निकायसम्म पु-याउने बताए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
