विदुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले गौहत्याको विरोधमा आज जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। देशका ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाउने कार्यक्रमअनुसार राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

राप्रपाले मंगलबार पार्टी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन समेत गरेको थियो ।

विगत केहि दिन अगाडी धरानमा गौ-वध गरी मासु खाएको दृश्य सामाजिक संजालमा सार्वजनिक गर्ने र त्यसो गर्न पाउनुपर्छ भन्दै खुलेआम चुनौती दिने पक्षलाई सरकारले कारवाही गर्न देखाएको उदासीनता उपर पार्टीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ तथा २८९ विरुद्ध भएका यस्ता गतिविधि उपर रोक लगाई सम्बन्धित पक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा संविधानको धारा २६ को उपधारा (३) ले दिएको अधिकार अनुरुप शान्तिपुर्णरुपले विना हतियार भेला हुन पाउने अधिकार बमोजिम सनातन परिवारले गर्न लागेको विशाल जनसभामा लगाएको निषेधाज्ञाले हिन्दु धर्मावलम्बीहरुप्रती सरकारको रवैया थप प्रष्ट भएको राप्रपा खोटाङको ठहर छ ।

गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाको माग गर्नुका साथै देशमा धार्मिक सांस्कृतिक सद्भाव कायम गर्न माग गरिएको राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीले बताए।

सम्बन्धित खवर