धैबुङ – रसुवामा पहिलोपटक आयोजना भएको बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगितामा नुवाकोटको सामरी नृत्य समूह प्रथम भएको छ ।
विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको आयोजनामा भएको प्रतियोगितामा म्यागङ गाउँपालिका वडा नम्बर–५ सामरीको मारूनी नाच समूह प्रथम भएको संस्थाका सचिव गीता न्यौपानेले जानकारी दिईन् ।
प्रतियोगितामा रसुवा र नुवाकोट जिल्लाका सात समुहले सहभागिता जनाएको उनले जानकारी दिईन् । प्रतियोगितामा नुवाकोट मगर संघ द्वितीय र रसुवाको ठूलो गाउँको मारूनी समूह तृतीय भएको छ ।
प्रतियोगिताका विजेताले क्रमशः प्रथमले २५ हजार रूपैयाँ, द्वितीयले २० हजार रूपैयाँ र तृतीयले १५ हजार रूपैयाँ नगदसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका थिए ।
जिल्लामा नै पहिलोपटक भएको मारूनी नाच प्रतियोगितामा मौलिक बाजागाजा तथा लोक संस्कृतिलाई जर्गेना गरी परम्परागत आस्थाको संस्कृतिलाई जिवन्त राख्न भावी पुस्ताले पनि सिकुन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष सोहम सुवेदीले बताए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
