तोपखाना – महिला स्वास्थ्यस्वयंसेविका सावित्री केसीले आफ्नो कार्यक्षेत्रका वडाबासी महिलाको व्यक्तिगत दर्ता घटनामा अग्रसरता देखाएकी छिन् ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ की महिला स्वास्थ्यस्वयंसेविका सावित्रीले अशोकबाटिकाकी स्थानीय रमिता श्रेष्ठको विवाह र उनको सन्तानको जन्मदर्ता सहजीकरणमा लागेकी हुन् । सरकारले उपलब्ध गराउने गर्भवती/सुत्केरी महिलाको पोषण, चेकजाँचलगायतका सेवाबाट वञ्चित हुन नदिन गर्भवती रमिताको स्वास्थ्य सेवामा स्वास्थ्यस्वयंसेविका सावित्रीले तल्लीनता देखाएकी हुन् ।
विवाह दर्ता र सन्तानको जन्मदर्ता भएकोमा रमिताले खुशी व्यक्त गरेकी छिन् । रमिताको अहिले छोरा तीन वर्षको छ। अहिले रमिता सात गर्भवती छिन् । रमिताले भनिन्, ‘यतिका समयसम्म विवाहपछि विवाह दर्ता गर्नुपर्ने ज्ञानको कमीले जन्मदर्ता पनि गरेकी छैनन् भने विवाह दर्ता पनि गरेकी छैनन् ।’
‘न पतिले भन्नुभयो न आफैंलाई नै थाहा भो’ रमिताले भनिन् ‘विवाह दर्ता नगर्दा आफुले पाउने सेवा पाउन यति धेरै असुविधा हुने रहेछ।’
नेपालको प्रचलित देवानी कानून बमोजिम सामाजिक परम्पराअनुसार विवाह सम्पन्न भए पश्चात् उक्त विवाहलाई स्थायी ठेगानामा रहेको सम्बन्धित स्थानीय निकायमा दर्ता गरी विवाह दर्ताको प्रमाणपत्र लिनु पर्ने हुन्छ । सोहि अनुसार पारिवारिक समस्याले विवाह दर्ता नभएका रमिताको विवाह दर्ता प्रक्रियामा तदाकरुता देखाएकी महिला स्वास्थ्यस्वयंसेविका सावित्रीले उठाएको समस्यालाई विदुर नगरपालिका-२ का वडासदस्य आनन्द श्रेष्ठले पनि आवश्यक र प्रमाणिक कागजात भए आमनागरिकले सामाजिक घटना दर्ता गर्न सकिने बताए। पछिल्लो समय बद्लिँदो स्वास्थ्य समस्यासँगै स्वास्थ्य स्वयंसेविकाको भूमिका पनि बढ्दै गएको वडासदस्य श्रेष्ठले बताए ।
सुरक्षित मातृत्वमा तल्लिन
सरकारले ल्याएको खोप कार्यक्रमको भिटामिन ए, पोलियो थोपा, परिवार नियोजनका साधन वितरण, विभिन्न खोप कार्यक्रम सञ्चालन गर्नुदेखि सुरक्षित मातृत्व कार्यक्रमका लागि परामर्श दिने काममा पनि खटिने गरेकी छिन् । साथै स्वास्थ्यस्वयंसेविका सावित्रीले महिनामा एकपटक आमा समूहको छलफल चलाउने गरेकी छिन्।
गर्भवती महिलालाई गर्भजाँच गर्ने तथा सुरक्षित प्रसूति सेवा पु-याउने, परिवार नियोजनको साधन वितरण गर्ने लगायतका जिम्मेवारी निर्वाह गदै आएकी स्वास्थ्यस्वयंसेविका सावित्रीले यी र यस्तै गतिविधिमा उनी विगत २७ वर्षदेखि सामाजिक काममा सक्रिय छिन् ।
‘वडाका टोलटोलमा महिला तथा बालबालिका स्वास्थ्यका बारेमा सेवा दिन पाउँदा खुशी लाग्छ,’ स्वास्थ्यस्वयंसेविका सावित्रीले भनिन् ‘२७ वर्षको अवधिमा यी कामले आर्थिकभन्दा पनि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा नाम कमाएको छु । यसमै खुशी छु । सोहिअनुसार सरकारले पनि उचित मूल्यांकन गर्नुपर्नेछ ।’
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
