“थोरै बोल्ने गर, तिमी त छोरी हौ ।” आफ्नो आफन्त ईष्टमित्रबाट सुन्न पाईने यी स्वादिष्ट शब्दहरुले कति गहिरो छाप छोड्यो थाहा छैन ! स्पर्श साह्रै मिठा ति शब्दको ।
छोड्यो छाप बस्यो दाग ! खै ति दाग अब मेटिन्छ कि मेटिदैन थाहा छैन । सानो गाउँमा जन्मिएकी म, अचानक एउटा साना मोडले ठुलो परिवर्तन ल्यायो मेरो जीवनमा । विद्यालय परिवर्तन, सायद, जीवन परिवर्तन, पुराना साथीहरु सबै याद बने । सुरु सुरुमा त, साह्रै मुस्किल थियो!त्यसैले होला पुराना साथीहरु संगै खेलेको, खाएको, कुराकानी गरेको, ती तिता मिठा यादहरुले मगज भरिन्थ्यो ।
साथीहरुसँग बसेको पहिलो दिन – नयाँ पोशाक अनि अब नयाँ यात्रा ! मेरो उपस्थितीमा सहमत जनाए सबैले । यता उता चल्दै थिए उनीहरु, त्यसै दौरानमा मेरो नयाँ पोशाक च्यात्तिएको ध्वार्र आवाज आयो। जिस्किँदै गरेका सबै शान्त भए । कपडा त च्यात्तियो ! अब के गर्ने ? म अन्यौलमा परे । आफूसँग किताब पनि थिएन, एउटा कापी बोकेर पढ्न गएकी थिए ।
त्यो दिन मेरो राम्रो बितेन – सायद भाग्यको कुरा होला । “अब के गर्ने होला !” भन्ने सोच्दै गर्दा एउटी फुल जस्ती सुवासिली मिलनसार साथी भेटेँ । त्यो कालो दिनमा घाम लागे झै भयो मलाई । मेरा लाज ढाकिदिन बसन्त ऋतु बनेर आईन् । उनको घरजाने बाटोमा मेरो घर पर्दो रहेछ । मलाई घर सम्म पुर्याइदिइन् । त्यस दिन देखि हाम्रो मित्रता बलियो भयो । त्यहि कक्षामा थियो जहाँ मैले पहिलो पटक जीवनउपयोगी सीप तालिम लिएको । अघिल्लो वर्ष देखि सुरु भएको रहेछ । सायद मलाई मद्दत गर्ने आँट त्यहिबाट आएको हुँदो हो उनलाई।
भनिन्छ, जीवनमा निकै उतार चढाव आउँछ! त्यस्तै भयो मेरो जीवनमा!आलोचनात्मक समाजमा हुर्किएकी म, डराउन मलाई सानै देखि मनपर्दैनथ्यो । तर आफ्ना आफन्त छिमेकको वचनको बाणले आत्मविश्वास रोपिएको थियो । यताबाट! तिर फ्याकि उत्तापट्टी आत्मविश्वास झुण्ड्याईएको थियो । म, मान्दिन ति कुराहरु भन्दा पनि नहुँदो रहेछ । “सबै यस्तो, तिमी किन त्यस्तो ?” मेरा क्रियाकलापमा असहमति जनाउने ति नै थिए जसले मेरो काम कुराको प्रशंसा गर्नुपर्ने थियो ।
जब मैले जीवनउपयोगी सीप तालिम पाएँ, थाहा भयो नेतृत्व गर्नु, आवाज उठाउनु, आफ्ना विचार राख्ननु अस्वभाविक थिएन । त्यसपछि पो मोडियो मेरो कहानी । भित्तामा झुण्डिएको आत्मविश्वास निकाली पुन आफुमा भरेँ ।
खेतबारी छैनन कतै, आमा एउटी जागिरे
घरमा छन् जहान् ४ खै त बाउको काम अरे !
बाबा मेरो सधै विरामी, सबै काम जाने पनि गर्न केहि नसक्ने! सायद त्यसैले होला मान्छेहरुले बोल्ने बाटो पाएको । मेरो नेतृत्वमा मेरी आमा पनि सामेल छिन्। उनलाई देख्दा असंभव केही छैन जस्तो लाग्छ ।
एक दिनको कुरा हो, साथी महिनावारी भइन्। प्रशासन जान कोही नसक्ने, “म त जान्न, सर देखि डर लाग्छ।” “केही गल्ती गरेको भए डर नत्र के को डर!” त्यहि सोचेर म अघि सरेँ, प्याड मागेर ल्याईदिएँ । मेरो यहि शाहस देखेर अरु पनि निडर भएको देख्दा निकै खुशी लाग्ने रहेछ ।
First impression is the last impression भने झै भयो । अब त झन् सबै काम कुरामा अगाडी सर्न थाले । म नयाँ थिए कसैले नचिन्ने । अब सबैले चिने । सबै काममा सक्रिय भएको देखेर पो हो कि सबैको नजरमा आएकी! म कुनै पनि अवसर छोड्दैन थिए । यहि देखेर होला रुम टु रिड को बालिका शिक्षा कार्यक्रमले आयोजना गरेको बालिकासंग पालिका कार्यक्रममा जान मलाई नै चुन्नु भयो । यो फेरी मेरो लागि अर्को अवसर बन्यो ।
विद्यालयमा प्याडको समस्या सक्किन खोजेको थियो, मैले फेरी स्वच्छ पीउने पानीको कुरा निकालेँ । बिचरा शिक्षकहरुलाई पनि कति रिस झन्झट लाग्थ्यो होला, तर के गर्नु आफ्नो कर्तव्य त पुरा गर्नै पर्यो। पानीको कुरा पनि चल्दै थियो, शौचालयको कुरा पनि राखे! यति हुदा सम्म त, “हैन यो पढ्न आएकि हो कि गुनासो गर्न ?” यो पनि सोच्नु भयो होला । पढेर, सोचेर नै त यो सब गरेकि थिएँ नि मैले! त्यत्रो जीवन उपयोगी सीप तालिम लिएको, यति त गर्नै पर्यो नि । मान्छे एउटा कुरामा खुशी भएर बस्नै सक्दैन भन्थे, हो जस्तो लाग्यो मलाई त । फेरी नयाँ विषय लिएर आएँ म, किनकी मेरो कक्षामा पढ्ने एउटा केटा साथी लडेर खुट्टामा चोट लागेछ, रगत बगेको बग्यै । स्कुलको प्रशासनमा प्राथमिक उपचार किट माग्यौँ, “छैन हामीकहाँ !” यही उत्तर आयो ।
के भयो ? कसरी भयो ? सोध खोज पनि गर्नु भएन । साथीहरु मिलेर नजिकै स्वास्थ्य चौकि लग्यौ। बिचरा उ त हिड्न नसक्ने थियो । मलाई लाग्यो कि नर्स नभएपनि प्राथमिक उपचार किट त चाहिने हो । त्यसैले फेरी प्रशासन धाएँ । अबको पालि चाँहि भाग्य भनौ कि मौका यहि रुम टु रिड बाट एउटा मिटिङ थियो स्कुलमा, ठुलाबडा सबै जम्मा हुने । यो कार्यक्रममा पनि सहभागि गराईदिनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वडाअध्यक्ष, शिक्षक, अभिभावक सबै सामेल थियौँ । सबैको अगाडी घटनाको बेलिविस्तार लगाए । पानी अनि प्राथमिक उपचार किट को कुरा चाहि मान्नु भयो । अब निवेदन बनाउन फेरी वडा कार्यालय गयौँ । अब त विद्यालयमा प्राथमिक उपचार किट र पीउने पानी पनि आयो । खुशी लाग्यो अब सानासाना नानीहरुको हातमा ठुलाठुला बोत्तल हुने छैनन् । मेरो काममा सबै साथीको सहयोग मिल्यो र मैले नेतृत्व गर्ने मौका पाएँ ।
चर्च को साधारण सभा अनि २०८१ सालको बालदिवस ति दुबै दिन मैले कार्यक्रम सन्चालन गरे, ति साबै जीवन उपायोगीसीप तालिमको, म नेतृत्व गर्न सक्छु, म बिचार आदनप्रदान गर्न सक्छु, साथिलाई सहयोग र विश्लेशनात्मक सोच शिपको विकासले नै ममा यति धेरै शाह्स आएको हुँदो हो । पखेटा फिजाएर उड्न लागेकी चरी झै आफूलाई स्वतन्त्र महसुस गरेकी थिए। बसन्त ऋतुले सँगै ल्याएको पालुवा झै जीवनोपयोगी सिपले ममा त्यो साहस ल्याएको थियो। सबैको मुहारमा आएको मुस्कान अनि तालीका ति बहारले मनमा अझ उत्साह भरेको थियो।
कथालाई अझ लम्ब्याउन चाहिन। अन्तिममा एउटा मिठो अनि मार्मिक घटना मेरी एउटी साथीको, जसको वर्णन मैले सुरुमै गरेकी थिएँ । उनको परिवार आर्थिक रुपले सक्षम थिएन । साथीलाई विद्यालय पढाउन पनि नसक्ने स्थिती उनको परिवारको थियो । Room to read ले विद्यालय सामग्रीहरु वितरण गरिदिने भयो र मरो साथीले आवश्यक सामग्री पाइन, पढ्न पाईन् तर समस्या यति मात्र थिएन। उनको घरमा खाने अन्न थिएन । मन बिनाको धन ठुलो कि ! धन बिनाको मन ? भने झैँ आर्थिक सहयोग गर्न त म कहाँ सक्थेँ र ! वडामा निवेदन लेखेर वडाअध्यक्ष संग कुरा गरेँ । उनको लागि ठुलो नभए पनि सानो रकम सहयोग गर्ने मौका वडाबाट मिल्यो । मन फुरुङग थियो । सहयोग पाउदा फुलैफुलको बगैंचा देखेकी पुतली जस्तै भएकी थिइ मेरी साथी पनि ।
सुन्दा सानो लाग्छ तर मेरो लागि यो कुनै राजनीतिक उपलब्धि जस्तो थियो । बजेट धेरै थोर होला । यदि काम असल छ, मन सफा छ भने परिणाम पनि असल नै आउदो रहेछ । मेरा जीवनमा पनि यस्तै भइरहेको छ । विद्यालयले विश्वास गरेको छ, रुम टु रिडले विश्वास गरेको छ, घरमा विश्वास बढेको छ, छिमेकी आफन्त सबै म र मेरो क्षमता देखेर प्रफुलीत छन् । वडा र नगरमा चिनिएकै छु । सायद अबको जीवनमा म एउटा असल नेतृत्व लिन सक्ने महिला भएर समाज परिर्वतनमा एक इट्टा थप्न सक्छु होला ।
मलाई पनि थियो दुख, होइन म नि सुसम्पन्न
बढि बोली नभन्नु है, आवश्यक थियो मैले भन्न
अहिले हाम्रो स्कुलमा first-aid kit मात्र होईन नर्स पनि हुनुहुन्छ। स्वच्छ पानी पिउन २ ओटा धाराहरू छन्। रुम टु रिडको जीवनउपयोगी सिप शिक्षा पनि अझै चल्दैछ। मेरी प्यारी साथी र म संगै पढ्दै नै छौँ। “तिमी छोरी हौ, धेरै नबोल” भन्ने समाजमा मैले बोलेर नै यी परिवर्तनहरू ल्याएँ। यसरी म जस्तै अरू कति धेरै बालिकाहरू यस जीवन उपायोगी सीप तालिमबाट लाभान्वित हुनसक्छन् होला ? कति भाग्यमानी रहेछु मैले यो तालिम पाएँ!कति यसबाट वन्चित छन् कतिले पाएका छैनन्। भनिन्छ, मान्छेको मन एउटा चिहान हो, अनि जहाँ हजारौ सपनाको कङ्काल भेटिन्छ। मैले जस्तै कति धेरै सपना बोकेका छन् होला!ति सपनाहरु साकार पार्न अघि बढेको सफलताको शिखरमा सगरमाथा झै अडिग निडर सहासी बनाउने, आज यसरी तपाइहरु सामु आफ्ना कथा राख्न सक्ने सक्षम बनाउने यस रुम टु रिड, बालिका शिक्षा कार्यक्रमलाई धन्यवाद!आज मेरो कुरा सुनिदिनु हुने सबैलाई पनि धन्यवाद !
अन्त्यमा,
We are not only women
We are human being
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
