काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा शपथ ग्रहण गरेका छन्। उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिका लागि सिफारिस समितिले प्रस्तुत कार्ययोजना र अन्तर्वार्ताको आधारमा सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, र डा. नवराज अधिकारीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। अन्ततः सन्तोषनारायण श्रेष्ठले यो पद पाएका हुन्।
२०८० पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षको पद रिक्त रहेको थियो। त्यसपछि, राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौलालाई सदस्य राखी छनोट समिति गठन गरिएको थियो।
फागुन १६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान हुँदा १९ जनाले आवेदन दिएका थिए। छनोट समितिले उनीहरूमध्येबाट पाँच जनालाई सर्टलिस्ट गरेको थियो। तर, सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जनाले अन्तर्वार्ता बहिष्कार गरेपछि प्रक्रिया स्थगित भएको थियो।
यसै क्रममा सन्तोषनारायण श्रेष्ठ अदालतमा पुगेर पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश झिकाएका थिए। त्यसपछि, सरकार परिवर्तन भई केपी शर्मा ओली प्रधानमन्त्री र विष्णुप्रसाद पौडेल अर्थमन्त्री बने। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएपछि उनी छनोट समितिको संयोजक बने।
नयाँ छनोट प्रक्रियामा सन्तोषनारायण श्रेष्ठले उत्कृष्ट प्रस्तुति दिँदै अन्ततः सेबोनको अध्यक्षमा नियुक्ति पाएका हुन्।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
