नुवाकोट – विदुर नगरपालिकाले सुनौलो हजार दिने आमाहरुलाई पोषण सम्बन्धी सामाग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
चालुआर्थिक वर्षको मङ्सिर १२ गतेदेखि २८ गतेसम्म नगरभित्रका १९२ सुत्केरी आमाहरुलाई पोषणयुक्त खानाहरु ठुलो औषधी, आयोडिन नुन, घ्यू, दाल, गुँद तथा सरसफाइको लागि साबुन वितरण गरिनुको साथै पोषण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको नगरउपप्रमुख प्रभा बोगटीले जानकारी दिए ।
शिशु गर्भमा रहेदेखि जन्मेको दुई बर्ष सम्मको अवधिलाई सुनौलो हजार दिन भनिएको छ। अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको उनले बताईन् ।
नगरका स्वास्थ्य चौकीलाई केन्द्र बनाएर सञ्चालन गरिने उक्त योजनामा सुनौलोहजार दिने आमाहरुलाई नगद ३ हजारसहित पोषण सामग्री वितरण गरिने स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिए । गत आवमा उक्त कार्यक्रममार्फत् नगरका ५ सय ५१ जना आमाहरुलाई नगदसहित पोषण सामग्री वितरण गरिएको थियो ।
मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना अन्तर्गत सरकारले ‘सुनौला हजार दिन’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
