५ माघ, नुवाकोट । सम्पादक समाज नेपालले वरिष्ठ पत्रकार युवराज घिमिरेलाई ‘सम्पादक समाज नेपाल सम्मान २०८१’ द्वारा सम्मान गरेको छ ।
संस्थाको १९ औं वार्षिकोत्सवको अवसरमा आज शिवपुरी गाउँपालिका-६ को सुईरेचौरमा आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले संयुक्तरुपमा वरिष्ठ पत्रकार घिमिरेलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका हुन् ।
संस्थाले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१’ संस्थागतरूपमा पर्वत जिल्लामा महिलाहरूद्वारा सञ्चालित सामुदायिक एफ. एम. रेडियो दिदीबहिनी ९५.२ लाई प्रदान गरिएको अध्यक्ष पुरु रिसालले जानकारी दिए । संस्थागतरूपमा प्रदान गरिने २५ हजार एक रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
जिल्लालाई कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका नुवाकोटमा रहेर विभिन्न सञ्चारमाध्यममा आबद्ध हुँदै हाल ‘यो समय’ अनलाइन को सम्पादन गरिरहेका ध्रुवकुमार रावल र राजधानी दैनिकका बझाङका सम्वाददाता एवं नेपाल पत्रकार महासंघ बझाङका सभापति डी.बी. विष्टलाई गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । पुरस्कृतद्वयलाई जनही १५ हजार एक रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, संस्थाको अभिभावकत्व वहन गरेकोमा सम्पादक समाज नेपालका संस्थापक स्व. गोविन्द वियोगीकी धर्मपत्नी कृष्णवदन वैद्यलाई अभिनन्दन गरेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
