२१ साउन, नुवाकोट । मनसुन सुरू भएदेखि नुवाकोटसहित सशस्त्र प्रहरी बल नेपालले देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ ।
सशस्त्र प्रहरीले बागमती प्रदेश अन्तर्गत काठमाडौंको कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी, ललितपुरको लेले र भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य आधार स्थापना गरेका छन् ।
मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मंगलटार, नुवाकोटको खरानिटार, चितवनको भालढुंगा, दोलखाको लिकंन बजार र सिगंटी तथा रसुवाको तातेपानीमा बेस स्थापना गरिएको छ।
यसैगरी कोशी प्रदेश अन्तर्गत मोरङको बखरी र ओखलढुंगाको हर्कपुर, मधेस प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरीयामा बेस स्थापना गरिएको छ।
विपदमा परेका आम नागरिकहरुको उद्धार कार्यमा सहज होस् भन्ने अभिप्रायकोसाथ सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी उक्त बेसहरूमा विपद् उद्धार सामग्री सहितको सुरक्षा फौज तयारी हालतमा राखेको छ।
त्यस्तै, सशस्त्र प्रहरीले आफ्नो वेबसाइटमार्फत् विपदमा परेका नागरिकहरुको तत्काल उद्धार तथा सहयोग गर्न टोल फ्रि नम्बर १११४ तथा सशस्त्र प्रहरी बल नेपालको कार्यालय तथा कार्यालय प्रमुखहरूको नम्बर समेत उल्लेख गरेको छ।
यसबाट विपदमा परेका नागरिकहरूले तत्कालै उद्धारको लागि सम्पर्क गर्न सकिनेछ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
