आदरणीय मतदाता आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको रूपमा खडा भएको छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणासँगै व्यवस्था परिवर्तनले साकार रूप लिए पनि लोकतान्त्रिक संस्कार, राजनीतिक इमानदारिता र सुशासनको प्रत्याभूति हुनेगरी देशको अवस्था परिवर्तनमा अपेक्षित सुधार हुन नसक्दा जेनजी आन्दोलनको नामबाट भएको नागरिक विद्रोह र त्यसबाट सिर्जित परिस्थितिका कारण हुन लागेको यो निर्वाचन अवस्था परिवर्तनको प्रस्थानविन्दुको रूपमा रहेको छ । विगत दस वर्षको सत्ता नेतृत्वको अदूरदर्शी, र लोकतन्त्रविरोधी व्यवहारले बढेको भ्रष्टाचार, दण्डहीनता, शासकीय अराजकता, आर्थिक विचलन र कुटनीतिक असन्तुलनका कारण देशमा गहिरिएको शङ्कट निवारण र राजनीतिक अवस्था तथा व्यवस्थाप्रति जनस्तरमा बढेको आक्रोस र विद्रोहको भावनालाई आत्मसात् गर्दै लोकतन्त्रलाई नागरिकको जीवनपद्धतिसँग जोड्ने युगीन दायित्व वहन गर्ने अभियानमा योगदान पु¥याउन बदलिएको नेपाली कांगे्रसको उम्मेदवारको रूपमा तपाईंहरूको बीचमा आएको हुँ ।
आदरणीय मतदाता महानुभावहरू,
आज मुलुक एकातिर सिद्धान्तहीन अङ्कगणितीय सत्ता दाउपेच, विधिविहीनता, दण्डहीनता र शासकीय अराजकताको पक्षपोषण र अर्कातिर आवेग वा उत्तेजनाको लक्ष्यहीन भड्काइका बीच चर्को द्वन्द्वको चपेटामा फसेको छ । यसलाई सुझबुझपूर्ण तरिकाले नसम्हाल्ने हो भने देशले आर्थिक, राजनीतिक तथा कुटनीतिक सन्तुलन गुमाई चरम शङ्कटमा फस्ने खतरा छ । २००७ सालको परिवर्तनको आवश्यकतालाई वी. पी. कोइरालाको चेतना, २०४६ को चुनौतीलाई गणेशमान सिंहको साहस, २०६२÷२०६३ को द्वन्द्वलाई गिरिजाप्रसादको दृढता र २०७२ को संविधान निर्माणको सकस पार लाउन सुशील कोइरालाको सुझबुझपूर्ण नेतृत्वकोे ऐतिहासिक विरासत बोकेको नेपाली काँग्रेस दोस्रो विशेष महाधिवेसनबाट आफूलाई परिष्कृत गर्दै यथास्थिति र अराजकताबाट देशलाई जोगाउँदै यस विषम कालखण्डमा सभ्य, सुसंस्कृत र लोकतान्त्रिक मुलुक निर्माणको युगीन नेतृत्व लिन युवा चेतना र युवा नेतृत्वका साथ देशभर आफ्नै ‘रुख’ चिन्ह बोकेर निर्वाचनमा आएको छ । म जगदीश्वरनरसिंह केसी देशमा मौलाएको शासकीय अराजकता र त्यसको विरोधका नाउँमा फैलिएको सामाजिक अराजकता दुबैको पार्टीगत रूपमा नेपाली काँग्रेसको नेतृत्वमा अन्त्य गरी सुशासन एवं आर्थिक तथा कुटनीतिक सबलीकरणका लागि योगदान गर्ने र व्यक्तिगत रूपमा तपाईं मतदाताहरूको व्यक्तिगत, सामूहिक वा सामाजिक सुखदुःखको साथी र सहयोगी बनेर सेवा गर्ने बाचासहित यस क्षेत्रको उम्मेदवारको रूपमा तपाईंहरूको बीचमा उभिएको छु । यस क्षेत्रका तपाईं मतदातासँग पार्टीगत र व्यक्तिगतरूपमा नेपाली काँग्रेसको र मेरो गहिरो सम्बन्ध छ । यही सम्बन्ध र विश्वासको जगमा उभिएर ‘रुख’ चिन्हमा छाप लगाई मलाई र नेपाली काँग्रेस पार्टीलाई विजयी गराइदिनुहुन हार्दिक अपिल गर्दछु ।
आदरणीय महानुभावहरू,
भ्रष्टाचार, दण्डहीनता, शासकीय अराजकता जस्ता बेथितिका विरुद्ध राष्ट्रियस्तरमा उठेको युवा आवाज र युवा भावनालाई सम्बोधन गरी जनउत्तरदायी र जवाफदेही शासन व्यवस्था स्थापित गर्ने, विगतका सत्ताधारीका कमजोरीले जनतामा बढेको निराशा र आक्रोसलाई भड्काएर सामाजिक अराजकता र असभ्यतासहितको राजनीतिक द्वन्द्व सिर्जना गर्नेहरूबाट देशलाई जोगाउने, विश्वको भूराजनीतिक दवाव र तनावबाट नेपालमाथि परेको प्रभावलाई परिपक्व कुटनीतिक क्षमता तथा राष्ट्रिय सहमतिका साथ व्यवस्थापन गर्ने, आर्थिक अराजकताको अन्त्य गरी गतिशील अर्थतन्त्रसहित राष्ट्रको क्षमता वृद्धि गर्ने र लगानीमैत्री वातावरण निर्माण गरी देशमा उद्योगधन्दा प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने जस्ता राष्ट्रिय दायित्व वहन गर्न आवेग, उत्तेजना वा प्रतिक्रियाको ताकतले होइन सुझबुझ र परिपक्वताको सामथ्र्यले मात्र सम्भव हुन्छ र यो सामथ्र्य नेपाली काँग्रेससँग मात्रै छ । तसर्थ, यो निर्वाचनमा नेपाली काँग्रेसको विजय अपरिहार्य छ ।


नुवाकोटको क्षेत्र नम्बर २ सँग नेपाली काँग्रेस पार्टी र यसका नेताहरूको गहिरो सम्बन्ध छ । विगतका कैयौँ कालखण्डमा यस क्षेत्रका तपाईँ मतदाताको प्रतिनिधि भएर राष्ट्रिय अभिभारा वहन गर्ने अवसर यस पार्टीका नेताहरूले प्राप्त गर्दैगर्दा यहाँको विकास निर्माण र आर्थिक, सामाजिक रूपान्तरणका लागि उहाँहरूको ठूलो योगदान रहेको छ । अर्जुननरसिंह केसी र बहादुरसिंह लामाले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सामाजिक विकासका अन्य क्षेत्रको सुधारमा पु¥याउनुभएको योगदानका अहिले पनि यहाँका विद्यालय, जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्मका स्वास्थ्य संस्थाहरू र विकास निर्माणका सयौँ उपलब्धिहरू साक्षी छन् । त्रिशूली नदी र आसपासका खोलाहरूमा बनेका दर्जनौँ पक्की पुल र क्षेत्रभरि फैलिएको पक्की तथा अन्य सडक सञ्जालको निर्माणमा उहाँहरूको सार्थक पहलकदमी रहेको तथ्य निर्विवाद छ । जीर्णप्रायः भइसकेको रानीपौवा–पीपलटार सडक नेपाली काँग्रेसकै नेताहरूको हस्तक्षेपकारी पहलमा बहुवर्षीय ठेक्कामा गइसकेको छ भने चौवन्नकिलो–आरुखर्क–बाघखोर सडक, कोल्पुटार–दियाले–पञ्चासे–झ्याङ्लीपोखरी सडक, चाउथेपुल–कुमरी डाँडागाउँ हुँदै कोल्पुटार जोड्ने सडक, चारघरे गोरीबेसी–भट्टगाउँ सडक, किर्नेबगर–भाल्चेबेसी–साल्मे सडक, मान्द्रेढुङ्गा–छत्रेखोला–बुधसिङ–तारुका सडक, ढोडबेसी–सातदोबाटो–तारुका सडक, हात्तीगौँडा–देउराली–किम्ताङ सडक, सोले–सातदोबाटो–भाल्चे–साल्मे सडकलगायत दर्जनौँ सडकहरू कुनै निर्माणाधीन त कुनै निर्माणको प्रकृयामा छन् । त्रिशूली अस्पताललाई उत्कृष्ट सेवा प्रवाह हुने गरी गरिएको स्तरोन्नति, तामाङ सङ्ग्रहालय निर्माणको थालनीजस्ता सामाजिक, सांस्कृतिक कार्यलाई नेपाली काँग्रेसको नेतृत्वले सशक्तरूपमा अगुवाइ लिँदैआएको छ । आगामी दिनमा पनि यस क्षेत्रको भौतिक, सामाजिक तथा सांस्कृतिक विकासको गतिलाई अघि बढाउन नेपाली काँग्रेसले सदैव नेतृत्वदायी भूमिका खेल्नेछ । र, यसको पहलकदमी मैले लिने प्रतिवद्धता ब्यक्त गर्दछु ।
जनताको समृद्धिको आकांक्षा र रोजगारीको चाहनालाई मैले राम्रोसँग बुझेका छु । यसै वर्षको बाढीले क्षतिग्रस्त रसुवागढीको सुख्खा बन्दरगाहलाई पीपलटारमा स्थानान्तरण गरी विदुरलाई ब्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने र बुङ्ताङलाई सुन्तला, किम्ताङलाई ट्राउट माछा, काहुलेलाई तरकारी, बेलकोटगढीलाई आलु उत्पादन क्षेत्रको रूपमा विकास गरी बजारको प्रवद्र्धन गर्ने मेरो प्रयत्न रहनेछ । यसका अतिरिक्त वञ्चितीकरणमा पारिएका, उपेक्षित, सीमान्तकृत, निमुखा र पीडित वर्ग एवं समुदायको पक्षमा पैरवी गरी सामाजिक न्याय र सुरक्षाको सुनिश्चितता गर्ने, मध्यपहाडी लोकमार्ग, त्रिदेशीय सम्पर्क र जलविद्युत कोरिडरको रूपमा रहेको गल्छी–त्रिशूली–रसुवागढी सडक र राजधानी जोड्ने सबै सडकको स्तरोन्नति र सुधार कार्य छिटो र भरपर्दो रूपमा सम्पन्न गराउन अर्थपूर्ण पहल गर्न तथा विगतमा हाम्रै पहलमा र अन्य प्रकृयामार्फत सुरु भई अधुरो र अव्यवस्थित रहेका सबै रणनीतिक एवं ग्रामीण सडकहरूको सुधार र स्तरोन्नति गरी व्यवस्थित गर्न प्रभावकारी पहल गर्नेछु । नुवाकोट जिल्लाको चौतर्फी विकास र समृद्धिको लागि समन्वयात्मक र सामूहिक प्रयासलाई गति दिन र नुवाकोटलाई विकास र समृद्धिको राष्ट्रिय मूल प्रवाहमा समाहित गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक, विद्युतीकरण, रोजगारी प्रवद्र्धनलगायत सामाजिक तथा भौतिक विकासका कार्यहरूलाई व्यवस्थित र योजनावद्ध किसिमले सम्पन्न गर्न यस क्षेत्रका नागरिकले गर्वको अनुभूति गर्ने गरी अगुवाइ लिनेछु ।
प्रिय मतदाताहरू,
माथि उल्लेखित र अन्य कार्यहरू सम्पन्न गर्दै राष्ट्रिय राजनीति र विकास अभियानमा तपाईंको गर्विलो प्रतिनिधित्व रहने प्रतिवद्धता पुनः दोहो¥याउँदै मलाई र नेपाली काँग्रेसलाई मतदान गरेबापत आगामी दिनमा तपाईंहरूले निराश हुनु नपर्ने र आशा एवं विश्वासको सञ्चार गराउने प्रण गर्दछु । अतः फागुन २१ मा हुने आम निर्वाचनमा प्रत्यक्षतर्फ मलाई र समानुपातिकतर्फ नेपाली काँग्रेसलाई ‘रुख’ चिन्हमा मतदान गर्नुहुन हार्दिक अपिल गर्दछु ।
जय नेपाल !
जगदीश्वरनरसिंह केसी
(प्रायोजित सामग्री)

सम्बन्धित खवर