बिदुर । गत भदौ १० गत भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीका कारण घरबास बिहीन हुन पुगेका नुवाकोटको तारकेश्वर गाउँपालिका नागरिकहरुको पुनर्बासका लागि गाउँपालिकाले अग्रसरता लिएको छ । गाउँपालिका विपद व्यवस्थापन समितिको आईतबार बसेको बैठकको निर्णयलाई आईतबार नै बसेको पालिकाको कार्यपालिका बैठकले अनुमोदन गरेसंगै पुनर्बासको प्रकृया अघि बढ्ने भएको हो । बैठकको निर्णय अनुसार तारकेश्वर गाउँपालिकाको वडा नम्वर २ र ४ मा ७४ वटा पक्की घरसहितको दुई एकीकृत बस्ती निर्माण हुनेछन् ।


गाउँपालिका अध्यक्ष शिव अधिकारीका अनुसार वडा नम्वर २ को उपल्डी ढुंगेपाटो र बिर्ताफाँट माथि कटर चौतारोमा ३७ घर र वडा नम्वर ४ को आँपचौर बुढीकोे डाँडा रबल्छेउटारमा ३७ वटा पक्की घरको एकीकृत बस्ती निर्माणका लागि दातृसंस्थालाई अनुमति दिने निर्णय भएको छ । एकीकृत बस्तीका प्रत्येक घरमा ३ वटा कोठा, शौचालय र बाथरुमसहितको संरचना निर्माण हुनेछ भने खानेपानी र बिजुलीको व्यवस्थापन गरिनेछ ।


गाउँपालिका अध्यक्ष शिव अधिकारीले विपदपछिको पुनर्निर्माण र विस्थापितहरूको पुनर्बासका लागि गाउँपालिकाले विशेष प्राथमिकताका साथ काम अघि बढाएको र सोमबार देखि नै बस्ती निर्माणको आवश्यक प्रक्रिया सुरु गरी द्रुतगतिमा काम अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिईएको जानकारी दिए ।

सम्बन्धित खवर