बिदुर । लाखौं रुपैयाँ खर्चिएर तडकभडकका साथ ब्रतबन्ध गर्ने प्रबुत्तीलाई बिस्तारै सामूहिक ब्रतबन्धले निरुत्साहित गर्दे आएको छ ।

बिदुर नगरपालिका वडा नम्वर ५ स्थित देबिघाटमा रहेको सहीद जगतप्रकाश जंग शाह संस्कृति माध्यमिक बिद्यालयले २०५६ सालबाट बर्षेनी सामूहिक ब्रतबन्ध कार्यक्रम आयोजना गर्न थालेपछि यो समाजमा मितब्ययिताको नमुना मात्र बनेको छैन, सामाजिक सुधारको एउटा महत्वपूर्ण पाटो समेत बन्न थालेको छ ।


बिद्यालयले सामाजिक जागरण र बिद्यालयको शैक्षिक बिकासमा समेत टेवा पुगोस भन्ने उद्धेश्यले २०५६ सालमा ५ जना बटुकहरुको सामूहिक ब्रतबन्ध गराएर सुरु गरेको यो अभियानले पछिल्ला बर्षहरुमा ब्यापकता पाउँदै गएको छ । हरेक बर्ष सरस्वती पुजाको दिन आयोजना हुने सामूहिक ब्रतबन्धमा सहभागिताका लागि नुवाकोटका मात्र नभई नुवाकोट बाहिरका बटुकहरुको पनि उल्लेख्य सहभागिता रहँदै आएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोल बताउँछन् ।


यो बर्ष देबिघाटस्थित चौसठ्ठी धाममा आयोजित सामूहिक ब्रतबन्धमा ८२ जना बटुकहरुलाई सामूहिक रुपमा मन्त्रदान गरियो । त्यसक्रममा धामका पंडित गोकुल सापकोटा लगायतले बटुकहरुलाई मन्त्रदान गरेका थिए । सामूहिक ब्रतबन्धमा सहभागि हुनेहरुले बिद्यालयलाई मात्र ६ हजार रुपैयाँ बुझाएपछि त्यही रकमबाट बिद्यालयले ब्रतबन्धका लागि चाहिने सम्पूर्ण सामग्री तथा बटुकका आमाबुबा र मामामाईजुसहितलाई भोजनको समेत प्रबन्ध गरेको थियो । सामूहिक ब्रतबन्धमा लाग्ने खर्च कटाएर जम्मा हुन आउने रकम बिद्यालयको कोषमा जम्मा गरी शैक्षिक बिकासमा प्रयोग गर्ने गरिएको बिद्यालयकी प्रधानाध्यापिका मञ्जु चित्रकारले जानकारी दिईन् ।

सम्बन्धित खवर