ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आईतबार आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै हो भन्नुभयो । उहाँले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गर्नुभयो । “अहिले पनि संसदमा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन । यसले नेताहरुको स्वार्थमा संसद् र सरकार बन्धक बनाउँछ । जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुनुपर्छ । राजनीतिलाई दूषित हुनबाट बचाउन निर्वाचन प्रणालीलाई बदल्नुपर्छ,” महामन्त्री थापाले भन्नुभयो ।

मिश्रित निर्वाचन प्रणाली विकृत भएको र त्यसबाट नेताहरूलाई सत्तामा पुग्न सहज हुँदा शक्तिको दुरुपयोग हुने गरेका आरोप महामन्त्री थापाले लगाउनुभयो । प्रणाली ठीक नहुँदा देश विकासको गति ठप्प प्रायः भएको बताउँदै उहाँले संघीय प्रणालीलाई ठीक ढङ्गले उपयोग गर्दै नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार सेवा प्रवाह हुनुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर