कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले उहाँलाई रू ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई रू ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको उहाँले बताउनुभयो ।
कास्की जिल्ला अदालतमा यही पुस १६ गतेदेखि लामिछानेसहित उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक भइरहेकोमा आज सकिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको थियो ।
सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय कास्कीले अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढाइएको थियो ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको थियो भने लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो ।
14
Shares
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web