बिदुर । बिदुर नगरपालिका वडा नम्वर ४ बट्टारमा रहेको एस.एस गहना पसलमा पहेंलो रङको सुनजस्तो देखिने धातु दिई ६० लाख रुपैयाँ लिएर फरार रहेका तीनजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो स्थानीय सबिन अमात्यको गहना पसलमा ठगी गरि फरार रहेका अभियुक्तहरुलाई राती साढे सातबजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गहना पसलमा ठगी भएको सूचनापछि हुलियाको आधारमा अभियुक्तहरुको खोजतलास तिब्र पारिएको र उनीहरुलाई प्रहरी चौकी ककनीबाट खटिएको प्रहरी टोलीले ककनी गाउँपालिका वडा नम्वर ५ जाईफलपौवामा रहेको ककनी एग्रो टुरिजम रिसोर्टबाट पक्राउ गरेको हो । प्रहरीले उक्त रिसोर्टबाट ठगीमा संलग्न रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्वर ६ धुञ्चेका ३६ बर्षिय जितमान तामाङ, सोही स्थानका २१ बर्षिय बुद्वराम तामाङ र आमाछोदिङ्मो गाउँपालिका वडा नम्वर १ हाकु घर भई काठमाण्डौको टोखा बस्ने ३० बर्षिय ङवाङ दोर्जे तामाङलाई नगद ६० लाख रुपैयाँ, २ थान खुकुरी र वारदातमा प्रयोग भएको दुईवटा मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई ठगी सम्बन्धी कसूरमा नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सम्बन्धित खवर