बिदुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पछिल्लो समय खेल पर्यटनको समूचित प्रबर्धनबाट आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्न थालेको बताउँदै खेल पर्यटन प्रबर्धनका लागि आवश्यक खेल पूर्बाधारहरुको बिकासमा प्रदेश सरकारले महत्वपूर्ण कार्यक्रमहरु कार्यान्वयन गरिरहेको बताएका छन् । नुवाकोट जिल्ला मुलुककै उपयुक्त खेल गन्तब्य बन्ने सम्भावना बुझेर प्रदेश सरकारले सोही अनुसार नीति कार्यक्रम निर्माण र बजेट ब्यवस्थापन गर्ने समेत मुख्यमन्त्री लामाले स्पष्ट पारे ।
शुक्रवार नुवाकोटको पंचकन्या गाउँपालिकास्थित घ्याङस्वारामा १४ औं नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटनका क्रममा मुख्यमन्त्री लामाले राजधानीमा बढ्दो सहरीकरणका कारण खेलकुदका लागि उपयुक्त स्थानहरुको कमी देखिँदा नजिकै रहेको नुवाकोट जिल्लामा खेल पूर्बाधारहरुको बिकास हुन सके त्यसबाट यहाँको जनजीवनमा सकारात्मक परिवर्तन देखिने उल्लेख गरे । नुवाकोटमा पछिल्लो समय खेल पूर्बाधारहरुको बिकास तिब्ररुपमा हुँदै गरेको तथा खेल क्षेत्रको बिकास र पर्यटन प्रबर्धनको पाटोलाई एकसाथ अघि बढाउन सबै तहका सरकारहरुबिच समन्वयात्मक सहकार्य हुनुपर्नेमा समेत मुख्यमन्त्री लामाले जोड दिए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महत, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरी, बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव दीपक लामा, पंचकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङ, नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा, नुवाकोट जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय गुरुङ लगायतले खेल क्षेत्रको बिकास र यसका बिबिध आयामहरुका बारेमा आफ्ना धारणाहरु राखेका थिए ।
नुवाकोट जिल्ला खेलकुद बिकास समिति र पंचकन्या गाउँपालिकाको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा नुवाकोटका नौवटा स्थानीयतहका चारसय ५० भन्दा बढी खेलाडीहरुले एथलेटिक्स, मार्शल आर्ट र भलिबलका बिभिन्न स्पर्धाहरुमा सहभागिता जनाईरहेका छन् ।

सम्बन्धित खवर