बिदुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पछिल्लो समय खेल पर्यटन प्रबद्र्धनले मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्याउँदै आएकाले खेलकुद र पर्यटन क्षेत्रको बिकासमा एकीकृत रणनीति बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । बागमती प्रदेश सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा खेल पर्यटन प्रबद्र्धनका लागि आवश्यक रणनीतिहरु बनाईने समेत मुख्यमन्त्री लामाको भनाई छ ।
सोमबार धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्वर ३ स्थित गैह, वाकामा १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापनका क्रममा मुख्यमन्त्री लामाले बागमती प्रदेशको आगामी बजेट प्राथमिकताका आधारमा तयार हुने समेत स्पष्ट पारे । समृद्ध प्रदेश निर्माणका लागि आवश्यकताहरुको प्राथमिकिकरण गरेर बजेट ल्याउनुको बिकल्प नरहेको बताउँदै त्यसक्रममा मुख्यमन्त्री लामाले नागरिकमा संघीयताप्रतिको अपनत्वबोधको भावना अझै जागृत गराउन पनि बिकास योजनाहरुमा पारदर्शिता र गुणस्तरीयताको आवश्यकता रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा मुख्यमन्त्री लामाले फुटबल प्रतियोगिताका बिजेताहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र समेत बितरण गरेका थिए ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web