बिदुर । राजधानी काठमाडौंबाट नजिकको दुरीमा रहेको नुवाकोट जिल्लालाई राजधानी बाहिरको उपयुक्त खेल गन्तब्यका रुपमा लिने गरिएको छ । जिल्लाका संघ, प्रदेश र स्थानीयतहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु देखि सबै सरोकारवालाहरु नुवाकोटलाई खेल गन्तब्यका रुपमा बिकसित गर्नसके खेल पर्यटन प्रबद्र्धन मार्फत जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्याउन सकिने धारणा ब्यक्त गरिरहेका छन् । बर्तमानमा बागमती प्रदेश सरकार र प्रादेशिक खेल क्षेत्रको नेतृत्व समेत नुवाकोटले गरिरहेको सन्दर्भमा खेल पूर्बाधारहरुको बिकास र खेल गतिबिधिहरुको बढोत्तरीले जिल्लालाई उपयुक्त खेल गन्तब्य बनाउन सहज हुने सरोकारवालाहरुको बिश्वास छ ।
यसै सन्दर्भमा यो महिना नुवाकोटमा दुईवटा महत्वपूर्ण खेल प्रतियोगिताहरु संचालन हुने भएका छन् । बागमती प्रदेशको खेलकुद बिकास परिषद् संरक्षक भएर संचालन हुने दुबै प्रतियोगिताहरुको सफल संचालनले नुवाकोटका खेल सम्भावनाहरुलाई समेत उजागर गर्ने बिश्वास गरिएको छ । नुवाकोट जिल्ला खेलकुद बिकास समिति मुख्य आयोजक रहेर आगामी बैशाख १३ गतेदेखि २० गतेसम्म नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । बिदुर नगरपालिका संरक्षक र नुवाकोट जिल्ला फुटबल संघ सह– आयोजक रहेको प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बिभागिय टोलीका साथै बागमती र सर्लाहीसहित आठ टीमको सहभागिता रहने नुवाकोट जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय गुरुङले जानकारी दिएका छन् ।
यसैगरी आगामी बैशाख १३ गतेदेखि १५ गतेसम्म बागमती प्रदेश मुख्यमन्त्रीकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पनि तयारी सुरु भईसकेको छ ।नुवाकोट जिल्ला खेलकुद बिकास समितिको आयोजना, बिदुर नगरपालिकाको संरक्षकत्व नुवाकोट जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा हुने प्रतियोगितामा सातवटा बिधामा प्रतिस्पर्धा गराईने छ । नेपाल ब्याडमिन्टन संघको प्राबिधिक सहयोग र कोलोनी ब्याडमिन्टन ग्रुपको सहयोगमा संचालन हुने प्रतियोगिताको सबै बिधामा आठभन्दा बढी टिमहरुले सहभागिता जनाउने छन् ।

सम्बन्धित खवर