बिदुर । नुवाकोटमा जारी मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ । शनिवार भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा प्रतिस्पर्धी नेपाल प्रहरीको नेपाल पुलिस क्लवलाई शुन्यका बिरुद्ध १ गोलको अन्तरले पराजित गर्दे एपीएफले मोफसलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । एपीएफ र नेपाल पुलिसबिच मध्यान्तर अघिको खेल बराबरीमा सकिएको थियो । यस क्रममा दर्जनौंं अवसरहरु खेल फाल्न पुगेको सशस्त्रले मध्यान्तर पछि पनि पुलिसमाथि दवाव सिर्जना गरिरह्यो ।
तुलनात्मक रुपमा नेपाल पुलिस क्लवका खेलाडी भन्दा शारिरिक रुपमा समेत सबल देखिएका एपीएफका खेलाडीहरुको पटक– पटकको प्रयास बिफल हुँदा निर्धारित समय बराबरीमै सकिएको थियो । त्यसपछि मध्यान्तरपछिको थप गरिएको सातौं मिनेटको अन्तिम क्षणमा अत्यन्त आकर्षक हेडर गोल गर्दे एपीएफकी १५ नम्वर जर्सिकी खेलाडी अनिता केसीले टीमलाई गर्बिलो जित दिलाईन् । उनै अनिता फाईनल खेलको प्लेयर अफ दी म्याच र सर्वाधिक गोलकर्ता समेत बनिन् । उपाधि बिनेजा एपीएफले पाँचलाख रुपैयाँ नगद तथा उप–बिजेता नेपाल पुलिस क्लवले दुईलाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा एपीएफकी रेनुका नगरकोटीले उत्कृष्ट खेलाडी र अञ्जना रानामगरले उत्कृष्ट गोलरक्षक, जिबेश पाण्डे उत्कृष्ट प्रशिक्षक तथा नेपाल पुलिस क्लवकी सहारा लिम्बुले उदीयमान खेलाडीको उपाधि प्राप्त गरे । प्रतियोगिताका बिजेता, उप–बिजेता र उत्कृष्ट खेलाडीहरुलाई पूर्ब अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा संचालित, नुवाकोट जिल्ला फुटबल संघको मुख्य आयोजना र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा बागमती प्रदेश खेलकुद बिकास परिषद् मुख्य संरक्षक, बिदुर नगरपालिका संरक्षक, नुवाकोट जिल्ला फुटबल संघ सह–आयोजक रहेका थिए ।
प्रतियोगितामा ३ वटा बिभागीय टिमसहित ८ वटा टीमको सहभागिता रहेको थियो । यो प्रतियोगिता नुवाकोटमा आजसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

सम्बन्धित खवर