बिदुर । उद्योग तथा बाणिज्य कार्यालय नुवाकोटले आगामी आर्थिक बर्ष २०८२/ ०८३ मा समेट्नु पर्ने कार्यक्रमहरुका बारेमा सरोकारवालाहरुसंग सुझाव लिएको छ । शुक्रवार कार्यालयको सभाहलमा आयोजित अन्तरक्रियाका सहभागीहरुले आवश्यकताहरुको प्राथमिकिकरण गरि नयाँ कार्यक्रमहरु तर्जुमा गर्न कार्यालयलाई सुझाएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरीले दुरदराजका नागरिकहरु समेत लाभान्वित हुने र जीवनोपयोगी र अर्थोपार्जनका लागि महत्वपूर्ण सावित हुने गरी तालिम कार्यक्रमहरु समेट्नुपर्नेमा जोड दिँदै कार्यालयले उपलब्ध गराउने तालिममा स्थानीय कच्चा पदार्थहरुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा समेत ब्यक्त गरे ।
अन्तरक्रियामा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, महिला उद्यमी संघ नुवाकोटकी अध्यक्ष गीता अमात्य, बिदुर नगरपालिकाका उद्योग शाखा प्रमुख सुदर्शन सेढाई, जिल्ला लघु उद्यमी संघकी अध्यक्ष गीता थापा, उद्यमी पबित्रा पुडासैनी लगायतले कार्यालयले आगामी कार्यक्रममा समेट्नुपर्ने बिषयहरुका बारेमा आफ्ना धारणाहरु राखेका थिए । त्यसक्रममा उद्योग तथा बाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले अन्तरक्रियामा प्राप्त सुझावहरुलाई सही अर्थमा कार्यान्वयनमा ल्याईने बताउँदै कार्यालयका आगामी कार्यक्रमहरुलाई झनै प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित खवर