नुवाकोट – आईतबार म्यागङ गाउँपालिकाका उपाध्यक्ष सीता तामाङले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।
गाउँपालिकाको गाउँसभाको १२औं अधिवेशनले आगामी पाँच वर्षभित्र यस गाउँपालिकालाई शैक्षिक क्षेत्रमा बागमती प्रदेशकै नमुना गाउँपालिकाको रुपमा विकास गर्न नीतिगत कार्यक्रमहरु तय गर्ने पारित गरेको छ । आगामी आर्थिक वर्षलाई शैक्षिक गुणस्तर सुधार वर्षको रुपमा मनाइने भएको छ । साथै “उत्कृष्ट शैक्षिक गन्तव्य म्यागङ गाउँपालिका” को रुपमा स्थापित गरी म्यागङ बाहिरका विद्यार्थीहरुलाई समेत आकर्षित गरिने नीति लिएको छ ।
नीति तथा कार्यक्रमअनुसार आगामी आवदेखि “हाम्रो म्यागङ”को पहिचानसहितको कक्षा १ देखि ३ सम्म म्यागङ सेरोफेरो र कक्षा ४ देखि ८ सम्म हाम्रो म्यागङ/ङ्याङला म्यागङ नामक स्थानीय पाठ्यक्रम लागु गरिने भएको छ । सबै विद्यार्थीहरुका लागि कार्यपुस्तकको व्यवस्था समेत गरिने भएको छ ।
शिक्षण सिकाइमा प्रविधि अन्तर्गत शिक्षाको गुणस्तरमा वृद्धिको लागि गाउँपालिकाभित्रका सबै विद्यालयहरुलाई क्रमश: प्रविधिमैत्री बनाउँदै डिजीटलाईज गरिने भएको छ । हामी सबैको इच्छा भन्ने नाराका साथ म्यागङको शिक्षालाई व्यावहारिक, प्रविधिमैत्री र जीवनपयोगी बनाउन पहल गरिने भएको छ ।
“शैक्षिक गुणस्तर सुधार हाम्रो प्रतिबद्धता” अन्तरगत सबै विद्यालयसँग गरिएको कार्यसम्पादन सम्झौता अनुसार उत्कृष्ठ विद्यालय र उत्कृष्ठ शिक्षकलाई पुरस्कृत गर्ने भएको छ ।
विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्थापनको लागि विद्यालय संयोजन, दरवन्दी मिलान, गाउँपालिका अनुदान शिक्षकको व्यवस्था र बहुकक्षा बहुस्तर सिकाइ समेत सञ्चालन गरिनेछ।
विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्ने वातावरण निर्माण गरी नेपालको संविधान र अन्तराष्ट्रिय प्रतिबद्धताअनुसार शिक्षामा सबै बालबालिकाहरूको पहुँच सुनिश्चित गर्न विद्यालय नजाने बालबालिकाको संख्या शुन्य बनाइने नीति लिईएको छ।
विद्यालय हातामा तथा आसपासको क्षेत्रमा अस्वस्थकर खाद्य सामग्रीहरु अर्थात् पत्रुखानाको बिक्रि वितरण तथा प्रयोगलाई पूर्णरुपमा निषेध गरिने छ । सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिएको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
