हेटौँडा । बागमती प्रदेश सरकारले एक महिनाभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण सुरु गर्ने तयारी गरेको छ। हालै खरिद गरिएका पाँचवटा प्रिन्टरले प्रतिघण्टा ७ सय ५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता राख्छन्। प्रत्येक प्रिन्टरको क्षमता प्रतिघण्टा १ सय ५० रहेको छ।
यसअघि चालक अनुमतिपत्र काठमाडौंस्थित यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो। केन्द्रमा चाप बढेसँगै सेवाग्राहीलाई लाइसेन्स पाउन ढिलाइ हुने अवस्था आएको थियो। प्रदेश सरकारले करिब पाँच करोड रुपैयाँमा प्रिन्टर खरिद गरी सेवा सुरु गर्न लागेको हो।
यातायात व्यवस्था विभागका अनुसार हाल करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ। यसअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका धेरै सेवाग्राही अझै लाइसेन्स पर्खिरहेका छन्। बागमती प्रदेशले चालु आर्थिक वर्ष २०८२/८३ मा लाइसेन्स छपाइका लागि ६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले प्रदेश सरकारले सँगसँगै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम (इडीएलएस) र भेइकल रेजिष्ट्रेसन सिस्टम (भीआरएस) पनि लागू गरेको बताएका छन् । यसमार्फत नागरिकले घरमै बसेर लाइसेन्स आवेदन दिन, परीक्षण नतिजा हेर्न, नवीकरण गर्न र छपाइको अवस्था अनलाइनमार्फत बुझ्न सकिने उनले बताए ।
यस प्रणालीले सवारी साधन दर्ता, नवीकरण र अन्य कागजी प्रक्रिया डिजिटल बनाउने भएकाले सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ। साथै, प्रदेश सरकारको एपमार्फत लाइसेन्स र सवारीसाधन दर्ता विवरण हेर्न सकिने, डिजिटल बिलबुक प्रयोग गर्न सकिने छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
