हेटौँडा – बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउँदै परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ लाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ।
मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा आमूल परिवर्तनको आवश्यकता औंल्याउनुभएको हो।
उहाँले केवल औपचारिकता निभाउने र पुरानै ढर्रामा काम गर्ने प्रवृत्तिले जनतामा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकिने स्पष्ट पार्नुभयो। “हामीले अब टिप्पणी उठाएर र फाइल सदर गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने मानसिकता त्याग्नुपर्छ,” मन्त्री देवकोटाले भन्नुभयो, “हाम्रो हरेक काम जनताले प्रत्यक्ष देख्ने र अनुभव गर्ने गरी परिणाममा देखिनुपर्छ। यसका लागि स्मार्ट तरिकाले काम गर्नुको विकल्प छैन।”
मन्त्री देवकोटाले कुनै पनि ठूलो लक्ष्य एक्लै हासिल गर्न नसकिने बताउँदै मन्त्रालयका विभिन्न महाशाखा, विभाग र कर्मचारीहरूबीच बलियो ‘टिमवर्क’ को खाँचो रहेको बताउनुभयो। “एउटा व्यक्ति वा एउटा निकाय मात्र दौडेर हुँदैन। जबसम्म हामी सबै एउटै टोलीको रूपमा समन्वयका साथ अघि बढ्दैनौँ, तबसम्म नतिजा आउँदैन,” उहाँले भन्नुभयो।
परिवर्तन र विकासका लागि नवीन सोच र गतिशील कार्ययोजना अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले विश्वव्यापी रूपमा विकास भइरहेका नयाँ प्रविधि र अवधारणालाई प्रदेशको विकासमा जोड्नुपर्ने धारणा राख्नुभयो। उहाँले योजनाहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग गर्नसमेत निर्देशन दिनुभयो।
गोष्ठीमा विगतका कामको समीक्षा गर्दै आगामी वर्षका लागि थप स्पष्ट, रणनीतिक र कार्यान्वयनयोग्य योजना निर्माणमा केन्द्रित हुन आग्रह गर्दै उहाँले छलफलबाट आउने निष्कर्षले प्रदेशको पूर्वाधार विकासमा नयाँ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
मन्त्रालयका सचिव इश्वरी चन्द्र मरठ्ठाको अध्यक्षतामा भएको दुई दिने(भदौ १७ र १८) गोष्ठी कार्यक्रममा वातावरण संरक्षण तथा जलबायू परिवर्तन व्यवस्थापन विज्ञ डा. माघव कार्की र शहरी योजना तथा वस्ती विकास विज्ञ डा. संगिता सिंहको सहजीकरण गर्नुहुनेछ । कार्यक्रममा यातायता पूर्वाधार निर्देशनालयका निर्देशक नविन कुमार सिंह, प्रदेशका ११ वटै जिल्लाका भौतिक पूर्वाधार विकास कार्यालय, शहरी विकास तथा भवन कार्यालयका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
