हेटौँडा । चेपाङ समुदायको मौलिक पर्व ‘न्वागी’ आईतबार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ६को कालीखोलामा विशेष सांस्कृतिक कार्यक्रमसहित मनाईएको छ । नेपाल चेपाङ संघको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना अघि सारे ।
“यो बस्तीलाई पर्यटन क्षेत्रको रूपमा अघि बढाउन संस्कृति पर्यटन मन्त्रालय निरन्तर लागिरहनेछ,” मन्त्री श्रेष्ठले भने, “हामीले नै आफ्नो भाषा, भेष र संस्कार जोगाउन सकेनौं भने अस्तित्व संकट पर्छ ।” श्रेष्ठले चेपाङ समुदायको संस्कृति र भाषाको संरक्षणलाई आफ्नो प्राथमिकता बनाउने स्पष्ट समेत पारे ।
त्यसक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले न्वागी पर्वलाई राष्ट्रिय सम्पदा भनेर व्याख्या गर्दै डकुमेन्ट्री निर्माण भइरहेको बताए । “चेपाङ भाषा, लिपि र संस्कृतिको संरक्षणमा मन्त्रालय निरन्तर सक्रिय छ,” सुवेदीले भने, “चेपाङ बस्तीलाई होमस्टे र सम्पदा अवलोकनमार्फत पर्यटन हब बनाउने योजना अघि बढाइरहेका छौं ।”
नेपालका ६ जिल्लामा बसोबास गर्दै आएका चेपाङ समुदायले पालैपालो न्वागी पर्व विशेष रुपमा मनाउँदै आएका छन् । अध्यक्ष गोबिन्द चेपाङका अनुसार अघिल्लो वर्ष धादिङमा आयोजना भएको न्वागी पर्व यस वर्ष चितवनमा सम्पन्न भएको हो भने अर्को वर्ष मकवानपुरको राक्सिराङमा आयोजना गरिनेछ ।
चेपाङ समुदायमा पितृलाई पूजा नगरी नयाँ फलफूल वा अन्नपात खान नहुने धार्मिक मान्यता छ । न्वागीको दिन घैया धान, काउनो, पिँडालु जस्ता अन्नपात र फलफूल भूमिमा अर्पण गर्ने, ढ्याङ्ग्रो बजाउँदै कुखुरा बलि दिने, नातागोता भेला भई भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने चलन यस पर्वको विशेषता हा े।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
