हेटौँडा – नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण शाखा हेटौँडाले सञ्चालित शिवम् सिमेन्ट उद्योगबाट डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापतको रु दुई अर्ब ३४ करोड विद्युत् महसुल नतिरेको जनाएको छ । शिवम् सिमेन्टले विगत छ वर्षदेखि उद्योग सञ्चालनका लागि लिएको सो विद्युत् लाइनबापतको महसुल तिर्न बाँकी रहेको बताइएको छ । विसं २०७२ देखि २०७५ सम्मको डेडिकेटेड फिडर प्रयोग गरेको र त्यसको रकम नतिरेको वितरण शाखा प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
शिवम् सिमेन्टले विद्युत् महसुल तिर्न आलटाल गरेपछि सो शाखाले लाइन काटिने सूचना प्रकाशन गरेको थियो । त्यसपछि उक्त उद्योगले प्राधिकरणको विरुद्धमा अदालत पुगेको थियो । पाटन उच्च अदालत हेटौँडाले प्राधिकरणको पक्षमा फैसला गरेको थियो । तथापि शिवम् सिमेन्ट उद्योगले डेडिकेटेड फिडर प्रयोगबापतको महसुल बुझाउन आनाकानी गर्दैआएको प्रमुख ठाकुरको भनाइ छ ।
शिवम्ले प्राधिकरणलाई तिर्नुपर्ने रकम रु एक अर्ब २१ करोड रहेको भए पनि हालसम्म महसुल नतिरेको कारण अहिले जरिवानासहितको रकम रु दुई अर्ब ३४ करोड पुगेको हेटौँडा वितरण शाखाको लेखा शाखाले जनाएको छ । उता उद्योगको व्यवस्थापन पक्षमा उक्त महसुलको बक्यौता सम्बन्धमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । हेटौँडा विद्युत् शाखाअन्तर्गत करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको छ । विद्युत् सेवा लिएबापत मासिक रु १८ करोड विद्युत् महसुल प्राप्त हुने गरेको बताइएको छ । अवैधरुपमा विद्युत् चोरी गर्ने र महसुल नतिर्नेमाथि कारवाही र निरन्तर अनुगमन भइरहेको ठाकुरले जानकरी दिनुभएको छ । साथै विद्युत् रकम नबुझाउनेको लाइन काट्ने कार्य पनि जारी रहेको उहाँले भन्नुभयो । अहिले नयाँ ट्रान्सर्फमर जडान गर्ने र पुरानो काठका पोल विस्थापित गर्ने काम उक्त शाखाबाट भइरहेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
