विदुर – नुवाकोटमा आलु र मकैका परिकार उत्पादन गर्ने उद्योग खुल्ने भएको छ । नुवाकोटका विभिन्न व्यापारीक समुहले संयुक्त रुपमा जालपा भैरवी फुड इन्डस्ट्रिज उद्योग खोल्न लागेका हुन् ।
जिल्लामा विगत लामो समयदेखि व्यवसाय गर्दै आईरहेका चार जना प्रतिष्ठित व्यापारीहरुको समुहले आलु र मकै सम्बन्धी विभिन्न परिकार उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् । उक्त कम्पनीका सञ्चालक मध्येका एक कविन्द्रमान प्रधानका अनुसार उद्योग स्थापनाका लागि विदुर नगरपालिका वडा नम्बर ५ बुनेबेंशीमा करिब १८ करोड लगानीमा भौतिक पुर्वाधार भइसकेको छ । ‘हामीले भौतिक पूर्वाधार निर्माण गरिसकेका छौं भने प्याकेजिङ, लेबलिङ र उपकरणहरुको जडान प्रक्रियामै रहेको छ,’ उनले भने, ‘स्वदेशमा नै उत्पादन हुने आलुको उपयोग गरी आलु जन्य विभिन्न परिकारहरुको आयात विस्थापित गर्ने उदेश्यसहित उद्योगले नयाँ बर्षदेखि उत्पादन सुरु गर्नेछ ।’
स्वदेशी किसानहरुलाई आलु खेतीमा प्रोत्साहन गर्न र उत्पादनपछिको खरिदका लागि ग्यारेन्टी समेत गर्ने गरी आलु खेती विस्तार गर्नको लागि कार्यविधि समेत बनाउन थालिएको उनले जानकारी दिए । उक्त व्यापारीक समूहका सबै जना नुवाकोट चेम्बर अफ कमर्शमा आबद्ध छन् । जसमा प्रधान लगायत सुन्दरमान दुवाल, दिपकसेन रिजाल र राजाराम अधिकारी रहेको छन् । हाल आफुहरुले अत्याधुनिक प्रविधिद्वारा स्वास्थ्यबर्द्धक खाद्य सामग्री उत्पादन गर्न लागिएको समेत प्रधानले जानकारी दिए ।
उनका अनुसार नुवाकोट, रसुवा, धादिङको साथै टिस्टुङ, पालुङ, मुढे लगायत नेपालमै उत्पादन भएको आलुबाट परिकारहरु बनाईने छ । उद्योगबाट आलु चिप्स, आलु क्रयाकर, आलु कुर्मुरे र चिजबलका परिकारहरु उत्पादन तथा बिक्री गरिने छ । उद्योगले आलुको परिकार उत्पादन गर्न थालेको केहि महिनामै दालमोठ पनि उत्पादन गर्ने उनले जानकारी दिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
