saraswati neupane
सरस्वती न्यौपाने

संघीय राजधानी काठमाडौबाट स्याफ्रुबेंशीसम्म एकसय ३२ किलोमिटर मोटरबाट पुगेर स्याफ्रुबेंशीदेखि तीन दिनको पैदलपछि अद्भूत पर्यटकिय नगरी लाङटाङ पुग्न सकिन्छ ।

सन् २०१७ मा न्यूयोर्क टाइम्सले ‘विश्वका घुम्नैपर्ने ५२ ठाउँहरु’ मध्येमा लाङटाङलाई सूचीकृत गरेको थियो । रसुवा जिल्लास्थित यो गन्तव्य तिब्बतको सीमावर्ती क्षेत्रमा छ ।

बौद्ध दर्शन र स्थानिय तामाङ संस्कृतिले भरिपूर्ण क्याङजिङ उपत्यकाका तीन हजार नौसय मिटरमा पर्दछ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने क्याङजिङ भ्यालि कचौरा आकारको रहेको छ । यो उपत्यका लाङटाङ, लिरूङ, दोर्जे लाक्पा, यालापिक, जुगल र गाङ छेम्पो लगायत हिमालै हिमालले घेरिएको छ ।

लाङटाङ हिमाल सात हजार दुई सय ४६ मिटर रहेको छ । आठौं शताब्दिमा बौद्ध तान्त्रिक गुरु पदमसम्भवले अनुयायीका लागि ध्यान र तपस्या गर्न हिमाल नजिकै सात ठाउँ (बेयुल) तोकेका थिए । त्यस मध्ये लाङटाङ भ्यालिपनि एक हो । लाङटाङभन्दा माथि क्याङजेन उपत्यका रहेको छ । जहाँ प्राचीन गुम्बा र नेपालकै पहिलो चिज कारखाना रहेकाे छ ।

पर्यटकियस्थल भएकै कारण देशविदेशबाट आन्तरिक तथा बाह्य पर्यटकहरू अटाई नअटाई जाने लाङटाङमा जब २०७२ साल वैशाख १२ गतेको भुकम्पले हिमाल फुटेर गाउँ नै पुरियो । स्थानीयबासी पर्यटक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी समेत बेपत्ता भए । विस्तारै विभिन्न दाताहरूको सहयोगले बिस्तारै लाङटाङ तङरियो । त्यसपछि आन्तरिक तथा बाह्य पर्यटकहरू लाङटाङ जान थाले त्यसको केही वर्ष पछि देशव्यापी रूपमा फैलिएको कोरोनाले आक्रान्त पारेकेा भएपनि बीचमा विदेशी नआएपनि नेपाली पर्यटक जान थाले ।

बस्तिमाथि चेर्कोरी चार हजार नौ सय ८४ मिटरको हिमाल रहेको छ । चेर्कोरी चढेर हिउँ खेल्न सकिन्छ । ठुला हिमाल चढ्न पर्वतारोहणको तालिम गर्नेहरू क्याङजेन उपत्यकाको यालापिक पाँच हजार पाँच सय मिटर चढेर तयारी गर्दछन् ।

लाङटाङ स्थित हिमालय रेन्जको प्यानारोमिक हृश्य

क्याङजेन उपत्यकाबाट गन्जला पास गरेर हेलम्बु निस्कने पदमार्ग छ । तर यो कठिन पदमार्ग हो । रसुवाको स्याफ्रुबेंशीबाट तीन दिन पदयात्रामा लाङटाङ हुँदै क्याङजेन उपत्यका पुगिन्छ । लाङटाङ खोला किनारै किनार उकालो लाग्नुपर्छ । पदमार्गमा तामाङ समुदायको बसोवास रहेकाले गाउँ-गाउँमा प्राचीन गुम्बा, माने चैत्य रहेका छन् । भदौदेखि जेठसम्म लाटटाङ पदयात्राको उत्तम समय हो ।

सम्बन्धित खवर