नुवाकोट – दुप्चेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका १७ सामुदायिक विद्यालयका छात्रा विद्यार्थीहरुलाई कुल छ हजार २१६ स्यानिटरी प्याकेट प्याड वितरण गरेको छ।
स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई नि:शुल्क प्याड वितरण व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार सोमबार पालिकाले पालिकाभित्रका महिनावारी उमेर समुहका छात्राहरु मध्ये एक हजार १९९ जनालाई सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरुमार्फत स्यानिटरी प्याड वितरण गरीएको गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिए।
प्याड आवश्यकपर्ने छात्राको लागत राख्ने, वितरण गर्ने, प्रयोग भएका प्याडको उचित तरिकाले विसर्जनको व्यवस्था मिलाउने जिम्मा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई जिम्मेवारी दिइएकोमा गाउँपालिकाले प्याड वितरणको साथै प्याड व्यवस्थापन सम्बन्धि जानकारी दिईएको गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यले जानकारी दिए ।
सरकारको गत वर्षको भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने निर्णय गरेको थियो। प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गर्ने र त्यसको लागि बजेट व्यवस्थापन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साझाकोष खडा गर्ने निर्णय गरेको थियो।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
