नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार, कुशासन, असवैधानिक तथा अलोकतान्त्रिक तरिकाले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेसले त्रिशुली बजार क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस भातृसंगठनहरुको आयोजनामा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता रमेशकुमार महतले नेकपाको सरकार झुट्टा मुद्दा लिएर सत्तामा पुगेपछि नेपालकै इतिहासमा सबैभन्दा भ्रष्टाचार, कुशासन, बलात्कारीको संरक्षण र अपराधिक घटनाहरु बढेको बताए ।
“अहिले देश जटिल अवस्था रहेको छ । महामारी कोभिडले देशभर असर पुगेको छ। विद्यार्थीले पढ्न, कृषकले मल/बिउ र उद्यमी व्यापारीले उद्यम गर्न नपाएको, वैदेशिक रोजगारमा गएका नेपाली दाजुभाईहरु अलपत्रमा परेको छ। सरकार अहिले अधिनायकवादी तिर उन्मुख रहेको छ” उनले भने, “निर्वाचनको झुट्टा नाराले कम्युनिष्टहरुले गर्न नसकिने निर्वाचनको नाटक मञ्चन गरेको बताए। र यो गैर संबिधानमुलक छ। संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्न कुनै पनि अधिकार नरहेकोले नेपाली काँग्रेसले विरोध गरेको बताए। मध्यावधि निर्वाचन भएमा परिणाम नेपाली काँग्रेसकै हुनेछ।”
विरोध कार्यक्रम नेपाली काँग्रेसका भातृसंगठनहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाती संघ र नेपाल दलित संघलगायतको आयोजना भएको हो।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
