नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । आइतबार अखिल नेपाल महिला संघले प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरुद्ध विरोध प्रदर्शन गरेको हो ।
अखिल नेपाल महिला संघ केन्द्रीय सर्कुलर र आन्दोलन परिचालन कमिटिकाे निर्णय अनुसार देशै भरिका जिल्ला सदरमुकाममा जिल्ला प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने तय भएको कार्यक्रमअनुसार जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएकाे हाे।
संघले विदुर नगरपालिकाको बट्टार जम्मा भएर महिलाहरुले नाराबाजी सहित सदरमुकाम विदुरमा रहेको प्रशासन कार्यालयसम्म र्याली गरेका थिए । र्यालीमा अखिल नेपाल महिला संघ नुवाकाेट जिल्ला कमिटिका संयाेजक कल्पना रिजाल, नेकपा केन्द्रीय सदस्य विमला सुवेदी, विदुर नगरपालिकाका उपमेयर गिताकुमारी दाहाल, तारकेश्वर गाउँपालिका उपाध्यक्ष तारादेवि रिमाल, नेकपा नेतृहरु शुभद्रा नेपाल, शान्ता अधिकारी, उषाकिरण तिमिल्सिना, निर्मला खड्का अधिकारी, विना ख्यातीलगायतको उपस्थिति रहेकाे थियाे।
विरोध प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको व्यवस्था गर, महिला अधिकार सुनिश्चित गर, बढ्दो महङ्गी, भ्रष्टाचार र प्रतिगमनका विरुद्ध लगायतका नाराबाजी गरिएको थियो ।
यस्तै ‘प्रतिगमन मुर्दावाद’, ‘संविधानको रक्षा गरौँ’, ‘निर्मला पन्तको हत्यारालाई कारबाही गर’, ‘भ्रष्ट्राचारीलाई कारबाही गर’, ‘बढ्दो महंगी नियन्त्रण गर’ लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले सूर्य चिन्ह तथा हसियाँ हथौडा अंकित झण्डा समेत बोकेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
